कांग्रेस एकताका लागि गगन–विश्वप्रकाशको ७ बुँदे प्रस्ताव सार्वजनिक

फाष्ट मिडिया नेपाल संवाददाता

दमक। नेपाली कांग्रेसका सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै १५ औँ महाधिवेशनलाई मर्यादित, समावेशी र एकताबद्ध बनाउने उद्देश्यसहित तयार पारेको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । गत जेठ १६ गते पार्टीका शीर्ष नेताहरूलाई आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि जेठ ३१ गते सार्वजनिक गरिएको हो ।

‘सबै सँगै बढौँ यसरी’ भन्ने नारासहित ल्याइएको प्रस्तावमा विशेष महाधिवेशनपछिको परिस्थितिलाई आत्मसात् गर्दै पार्टीभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्ने र आगामी महाधिवेशनलाई एकताको आधारमा सम्पन्न गर्ने रोडम्याप प्रस्तुत गरिएको छ । प्रस्तावमा विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक तथा सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै असहमतिका विषयलाई १५ औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक एजेन्डाका रूपमा छलफल गर्न सकिने उल्लेख गरिएको छ ।

प्रस्तावले केन्द्रीय समितिका सबै सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । साथै, विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै सदस्यमाथि विभेद नगर्ने, निर्धारित समयभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्ने तथा पार्टीका अग्रज नेताहरूलाई ‘वरिष्ठ नेता’ को सम्मानजनक भूमिकामा स्थापित गर्ने विषय पनि समेटिएको छ ।

यस्तै, कार्यसमिति बाहिर रहेका नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने, महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरूमा सम्मानजनक सहभागिता सुनिश्चित गर्ने, केन्द्रीय समितिको अङ्गका रूपमा ‘१५ औँ महाधिवेशन व्यवस्थापन समिति’ गठन गर्ने तथा भ्रातृ र शुभेच्छुक संस्थाहरूमा इच्छुक तथा योग्य व्यक्तिहरूलाई नेतृत्वको अवसर दिने प्रस्तावमा उल्लेख छ ।

विशेष महाधिवेशनपछि पार्टीभित्र बढेको तिक्तता र विभाजनको अवस्थालाई अन्त्य गरी संस्थागत एकता कायम गर्न यो प्रस्ताव ल्याइएको गगन–विश्वप्रकाश समूहले जनाएको छ । नेतृत्व तहबाट प्रस्तावप्रति कुनै प्रतिक्रिया नआएपछि यसलाई सार्वजनिक गर्नुपरेको उनीहरूको भनाइ छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया