प्रधानमन्त्री ओलीले हुकुमी शासन चलाउन खोजेको कांग्रेस नेता भण्डारीको आरोप, अध्यादेशको बाटो गलत रहेको दाबी

खगेन्द्र कार्की
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले अध्यादेश ल्याएर सरकारले गलत गरेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सदन छदाछदै अध्यादेश ल्याउन नहुने बताएका हुन् । एउटा व्यक्तिबाट शासन सञ्चालित भयो भनेर राजतन्त्र फ्याँकेको स्मरण गराउँदै उनले हुकुमबाट कानुन बनाउने कुरा गलत हुने बताए ।
‘सदन छदाछदै अध्यादेश ल्याउनु भनेको गलत हो, संविधान, संसदीय व्यवस्थामाथिको अविस्वास हो । अध्यादेश ल्याउन हुँदैन । अध्यादेशबाट ल्याउनु भनेको हुकुम हो, हुकुम प्रमाणित हो । हामीले एउटा व्यक्तिबाट शासन सञ्चालित भयो भनेर राजाको अधिकार सिंहदरबारमा ल्यायौं । सिंहदरबारको अधिकार गाउँ पुर्यायौं । मुलुक सञ्चालन गर्ने जनप्रतिनिधि बनायौं भने अध्यादेशबाट ल्यान खोज्नु, सदन सञ्चालन नगर्नु अत्यन्त अप्रजातान्त्रिक कुरा हो । यो अत्यन्त गलत कुरा हो,’– उनले भने ।
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान व्यवस्थाकै लागि लामो संघर्ष गरेको स्मरण गराउँदै उनले प्राप्त विधि र प्रक्रिया मिच्ने अधिकार कसैलाई नहुने बताए । ‘केपी ओली र शेरबहादुर जी यो संसदीय व्यवस्थाका लागि जेल बस्नुभयो, यही विधि र प्रक्रियाका निम्ति । प्रचण्डजीले हतियार उठाउनु भयो, यही विधि र प्रक्रियाका लागि । यही विधि र प्रक्रियालाई मिच्ने अधिकार कसैलाई पनि छैन । पछाडि फर्किने अधिकार कसैलाई पनि छैन । यो अत्यन्तै गलत हो । कुनै साथीहरुले भन्नुहुन्छ, यो सहमतिबाट आएको हो । सहमति गरेर विधि र प्रक्रिया मिच्न मिल्दैन,’– उनले भने ।
छिटोभन्दा छिटो विकास निर्माणका काम गर्नुपर्ने, बहुवर्षीय ठेक्काहरु सुरु गर्नुपर्ने, सडक, पुल, सिँचाइका काम गर्नुपर्ने, विश्वविद्यालय र स्कूलहरुलाई राम्रो बनाउनुपर्ने काममा लाग्नुपर्ने सरकार कामभन्दा संयन्त्रहरु बनाउने, आफ्नो–आफ्नो जिल्लामा आफूनिकट मान्छे राख्ने र आफूसित असहमत कान्छेहरुलाई कमजोर बनाउने खेलमा लागेको उनले बताए ।
ll reactions:

खगेन्द्र कार्की
प्रतिक्रिया