रिकेश निरौला, सुनसरी।। सुनसरीको इनरुवा नगरपालिका–९ र हरिनगरा गाउँपालिका–३ को सिमानास्थित नहरनजिकको एकान्त स्थानमा दिनदहाडै गोली पड्काएर लुटपाट गरिएको छ ।
प्रहरीका अनुसार गोली पड्काएर त्रसित बनाउँदै मोटरसाइकलमा सवार व्यक्तिको साथमा रहेको झन्डै साढे ५ लाख रूपैयाँ नगद बुधबार दिउँसो २ः१५ बजेतिर लुटिएको हो ।हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद लुटिएको खबर आएको जिल्ला प्रहरी कार्यलय सुनसरीका एक प्रहरी अधिकृतले जानकारी दिए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट लुटपाट भएको खुलेपनि घटनामा संलग्नको पहिचान भइसकेको छैन । अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कदै थिए ।गोली पड्किएको जस्तो आवाज सुनेपछि उनले मोटरसाइकल रोकेका थिए ।अन्सारीले आफ्नो मोटरसाइकल रोक्नासाथ अर्को मोटरसाइकलमा रहेका ३ जना व्यक्तिले लुटपाट गरेको प्रहरीको भनाइ छ ।अन्सारीको साथमा भएको पैसाको झोला लुटेर ३ जनाको समूह फरार बनेको जानकारी आएको एसपी पोखरेलले बताए ।
घटनामा संलग्नको पहिचान हुन नसकिरहेको र ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जानकारी उनले दिए ।लुटपाट गर्नुअघि गोली पड्काएको भनिएपनि अन्सारी सकुशल छन् । घटनाका बारेमा प्रहरीले दिउँसो २ः४५ बजेतिर जानकारी पाएको हो ।लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगन्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता साथै डिएसपी नवीन कृष्ण भण्डारीले बताए।
प्रहरीका अनुसार पीडितले पुरानो अपाचे मोटरसाइकलमा सवार रहेका व्यक्ति पैसाको झोला लुटेर भागेको बताएका छन् । लुटपाटमा संलग्नमध्ये २ जनाले कालो र १ जनाले सेतो रंगको कपडा लगाएको भनिएको छ ।
डिएसपी भण्डारीका अनुसार लुटेराको खोजीका लागि सशस्त्र प्रहरीसँग समन्वय गरेर नेपाल–भारत सीमा क्षेत्रमा समेत चेकजाँचलाई कडा पारिएको छ ।मातहतका सबै प्रहरी युनिटबाट टोली परिचालन गरिएको उनले बताए । भण्डारीका अनुसार ठाउँठाउँमा चेकजाँचलाई तीव्र बनाइएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो