इटहरी । फरक फरक स्थानमा डुबेर ५ जनाको निधन भएको छ । खोटाङमा विद्यालयबाट फर्कने क्रममा दुई बालक, कपिलवस्तुमा फुटबल खेलेर नुहाउन खोलामा गएका दूई किशोर र सर्लाहीको ईश्वरपुर सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोर सहित ५ जनाको निधन भएको छ ।
खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा दुई बालकको खोलामा डुबेर मृत्यु भएको हो । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको स्थानीय चङ्खु खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । साबिकको राखाबांदेल–६ खिरुका राज सोही ठाउँमा रहेको जनहित प्राविमा कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए । शुक्रबार स्कुलबाट घर फर्कनेक्रममा पौडी खेल्न दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
चङ्खुखोला हिउँदमा सानो भए पनि वर्षामा ठुलो हुने गरेको छ । स्थानीयले हिउँदको समयमा गाईबस्तुलाई पानी खुवाउनका लागि दह बनाएका थिए । अहिले वर्षाको पानीले खोलाको सतहसँगै बढेको दहमा पस्दा दुई छात्रले ज्यान गुमाएका हुन् । घटनाको विषयमा जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी फुटबल खेलेर नुहाउन गएका र्दु किशोर कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलको खोलामा डुबेर निधन भएको छ । दुई जनाको मृत्यु भएको छ । शनिबार फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।
यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ ।
शनिबार दिउँसो फुटबल खेल्न साथीसँगै आएका सोही नगरपालिका–४ सागरनाथका १७ वर्षीय निशान थापामगरको नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको थियो । नुहाउन भनेर फूलजोर खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा पसेका मगरको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । गोताखोर टोलीले ३० मिटरभन्दा धेरै गहिरो खाल्डोबाट शव निकालेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो