रास्वपाभित्र पार्टीको उत्तराधिकारीको खोजी, वाग्ले र अर्यालमध्ये एक हुने

खगेन्द्र कार्की

काठमाडौं । पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि एकमतका साथ सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा कार्यवाहक तोक्ने विषयमा भने कित्ताकाट शुरु भएको छ । उपसभापतिद्वय डा। स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालमध्ये कसले कार्यवाहक लिने भन्ने विषयमा सो पार्टीभित्र आन्तरिक बहस चलिरहेको छ ।

यद्यपि, लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको अभ्यास भने भइसकेको छ । कात्तिक ५ गते विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदा रास्वपाबाट हस्ताक्षर अर्यालले गरेका थिए । विपक्षी अन्य चार दलका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अर्यालले रास्वपाबाट सभापतिको हैसियतमा हस्ताक्षर गरेका थिए ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा कात्तिक २ गते पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि दुई पटक म्याद थप गरिसकेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना विषयमा अनुसन्धानका लागि पहिलो पटक ६ दिन र दोस्रो पटक सात दिनको म्याद थप भएसँगै लामिछाने तिहारअघि कास्की प्रहरीको हिरासतबाट निस्कने कुनै छाँट छैन । किनभने कात्तिक १४ गतेसम्मको लागि सात दिनको म्याद पाएको प्रहरीले १५ गतेदेखि तिहार बिदा सुरु हुने। भएकाले तिहारपछि मात्रै उनलाई पुनः म्याद थपका लागि जिल्ला अदालत कास्की लग्ने छ । कथंकदाचित जिल्ला अदालत कास्कीले धरौटीमा राखेर अनुसन्धान गर्न आदेश दिएपनि उनीमाथि अर्को तरबार झुन्डिएकै छ, त्यो भनेको जिल्ला अदालत रूपन्देहीले बुटवलको सुप्रिम सहकारीको बचत अपचल प्रकरणमा जारी गरेको पक्राउ पुर्जी । उनीसहित पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ । अदालतद्वारा जारी विज्ञप्तीमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम उनीहरूलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया