एजेन्सी\ बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको ज्यान गएको अनुमान गरिएको छ । सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५ सय ६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २ सय ८७ जना मारिएका हुनसक्ने जनाएको हो । आयोगले मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फालिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान समेत गरेको समाचार संस्था एएफपीले जनाएको छ । विभिन्न ठाउँमा चिह्न नलगाइएका चिहानहरू फेला परेको आयोगको भनाइ छ । आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायले शेख हसिना र उनका शीर्ष अधिकारीको निर्देशनमा काम गरेको र मानवअधिकार उल्लङ्घन भएको उल्लेख छ । अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा झन्डै १ हजार ४ सय जनाको ज्यान गएको थियो । शेख हसिनालाई मानवताविरुद्धको अपराधमा उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ ।
अमेरीकाको अर्को निशाना कोलम्बिया
एजेन्सी\ केहि दिन अघि मात्रै भेनेज्वेलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को निशानामा कोलम्बिया परेको छ । ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाटै हटाउने चेतावनी दिँदै सैन्य कारबाहीको चेतावनी समेत दिएका छन् । उनले कोलम्बियाली नेतृत्वलाई लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाएका हुन् । पेट्रोले धेरै समयसम्म लागूऔषध तस्करी गर्न नपाउने उनको भनाई छ । कोलम्बिया विरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई ठिक लागेको प्रतिक्रिया दिएका छन् ।
मदुरोद्वारा आरोपको खण्डन
एजेन्सी\ भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गरेका छन् । अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिएका हुन् । उनीविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको षड्यन्त्र, मेसिनगन र विनाशकारी उपकरणहरू राखेकोलगायतका अभियोग रहेका छन् ।
बीबीसीका अनुसार ६३ वर्षीय मदुरोले अदालतमा आफू भेनेजुएलाको निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्कको संघीय अदालतले अर्को सुनुवाइका लागि आउँदो मार्च १७ तारिखको मिति तय गरेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो