सुरक्षा घेराबाट साम्पाङले गरे राजनीतिक दललाई सम्बोधन

फाष्ट मिडिया नेपाल संवाददाता

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गरेका छन् ।

सशस्त्र, जनपद र नगरप्रहरीको सुरक्षा घेराभित्र उभिएर हातेमाइकबाट बोल्दै आन्दोलनरत पक्षलाई सम्बोधन गरे ।

तर दलहरूले भने उनको यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताए ।

धरानको समग्र विकास निर्माण, धरानको समस्या समाधान र दीर्घकालीन योजनाबारे दलहरूसँग खासै सहकार्य, समन्वय र सम्बन्ध बनाउन हिचकिचाउँदै आएका मेयर साम्पाङले बिहीबार दिउँसो १ बजे सम्बोधन गरेका थिए । 

उनले आन्दोलनरत पक्षलाई सम्बधोन गर्दै भने, ‘यी विषयहरूमा छलफल गरौँ । त्यसका लागि चाहिँ आँउदो आइतबार ११ बजे १० दलका एक–एकजना प्रतिनिधि वार्तामा आउनेगरी तपाईंहरू नगरपालिका आइदिनु होला । र, सम्पूर्णलाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहान्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’

सामाजिक सञ्जालमा दलहरूप्रति खरो टिप्पणी लेखेर विवादित हुँदै आए पनि प्रत्यक्ष सम्बोधनमा भने उनले सकारात्मक भनाई राखे । उनले आफ्नो छोटो भनाइमा कसैलाई पनि कटाक्ष नगरी वार्तामा आउन आव्हान गर्नु नै ठूलो कुरा भएको केही बुद्धिजीवीहरूले बताए । 

गत साउन १ गतेदेखि लागू हुने गरी धरान खानेपानी व्यवस्थापन बोर्डले महसुल र शुल्क वृद्धि गरेपछि दलहरूले संयुक्त संघर्ष समिति गठन गरेका थिए । उनीहरूले महसुल यथावत कायम राख्न र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको निर्देशन अनुसार गर्न भन्दै आन्दोलन चर्काएका थिए । 

यसैबीच अदालतको आदेशले खोलिएको खानेपानीको काउण्टरहरूमा विद्यार्थी समूहले विहीबार फेरि तालाबन्दी गरेका छन् । उता उच्च अदालतले साउन २८ गते दुवैपक्षलाई छलफलका लागि पनि बोलाएको छ । साउन २७ गते दलहरूसँग खानेपानी महसुलबारे मेयर साम्पाङले बोलाएको वार्ताको निष्कर्ष के हुन्छ हेर्न बाँकी छ ।  

उपमहानगर कार्यालय परिसर तनावग्रस्त

खानेपानी महशुल र शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूको प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको थियो । शुल्क र महशुल वृद्धिको निर्णय खारेजीको माग गर्दै बिहीबार ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै गेटमा तोडफोडसमेत गरेका छन् । बिहीबार उपमहानगर कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगबाट केही घाइते भएका छन् ।

मेयरले मनोमानी रूपमा शुल्क र महसुल बढाएको भन्दै दलहरूले धरान खानेपानी बोर्डको कार्यालय र महशुल संकलनका लागि खोलिएका काउन्टरहरूमा ताला लगाएका थिए । ताला खोल्न उच्च अदालत विराटनगरको आदेशपछि खोल्न बाध्य भएका थिए। त्यसपछि उनीहरूले उपमहानगर घेराउको कार्यक्रम बनाएर आन्दोलन सुरू गरेका हुन्। धरान उपमहानगरको मातहतमा खानेपानी व्यवस्थापन बोर्ड रहेका कारण मेयर साम्पाङले महशुल वृद्धिको निर्णय गरेका थिए। उनले धरानमा खानेपानी आयोजनाको निर्माणमा एसियाली विकास बैंकको ऋणको साँवाब्याज तिर्न समस्या भएकोले महशुल बढाएको प्रष्टीकरण दिँदै आएका छन्।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया