इटहरी । गत आर्थिक वर्ष ०८१÷८२ मा नेपाल विद्युत् प्राधिकरणले नेपालबाट १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ। भारत र बंगलादेशमा गरेर प्राधिकरणले सोबराबरको बिजुली निर्यात गरेको हो ।
नेपाल विद्युत् प्राधिरकणको तथ्यांकअनुसार भारतमा १७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको छ ।
गत आवमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँबराबरको विद्युत् आयात भएको छ। सोअनुसार गत आवमा विद्युत् व्यापारमा नेपाल चार अर्ब ५३ करोड ६८ लाख रुपैयाँले बचतमा देखिन्छ । यद्यपि, गत आवको अन्तिम तीन महिनाजति भारतले रातको समयमा विद्युत् कटौती गर्दा आयात घट्न गई यस्तो बचत बढ्न गएको देखिन्छ ।
वैदेशिक विद्युत् व्यापारमा नेपाल अघिल्लो आव ०८०÷८१ देखि नाफामा छ । यस्तो व्यापारमा अघिल्लो आव ०८०÷८१ मा नेपाल १३ करोड रुपैयाँले बचतमा गएको थियो। त्यस आवमा १६ अर्ब ९२ करोडको विद्युत् आयात हुँदा निर्यात १७ अर्ब ६ करोड रुपैयाँको थियो। त्यसअघिका आवमा भने विद्युत् व्यापारमा नेपाल घाटामा थियो ।
नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो। सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो। हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ ।
अहिले भारतमा ९४१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति छ । त्यसमा हाल दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । यस्तै, गत वर्षदेखि प्राधिकरणले बंगलादेशमा पनि विद्युत् निर्यात गर्न सुरु गरेको छ। बर्खामा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने गर्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो