भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । छुरी प्रहार गरेर ससुरालीमा ४ जनाको हत्या गरेको अभियोग लागेका अन्दाजी ३० वर्षीय राजेन्द्र राई आफैं गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार राईको पेटमा २–३ ठाउँमा छुरी प्रहारको गरेको चोट देखिएको छ । उनलाई भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रेफर गरिएको भोजपुर प्रहरीका निमित्त प्रमुख एवं इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । उनका अनुसार घटनाबारे प्रारम्भिक बयानमा राजेन्द्रले राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेको र ब्युँझिएपछि छुरी खोसेर ससुरालीमा रहेकालाई आक्रमण गरेको बताएका छन् । ‘ममाथि छुरी प्रहार भएपछि ब्युँझिएँ । छुरी खोसेर सबैलाई हानेँ,’ उनले भनेका छन् ।
राजेन्द्रले छुरा प्रहार गर्दा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए । हत्या गरेपछि राजेन्द्रले हुर्बु भञ्ज्याङ पुगेर ‘मैले ४ जनालाई छुरी हानेर आएको छु, शायद मरिसके होलान्’ भन्दै प्रहरीलाई फोन गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो विवाह भएको थियो । पहिलो श्रीमतीले छाडेपछि केही महिनाअघि मनिषालाई भगाएर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मनिषाको उमेर १६ वर्ष मात्र रहेकाले उनको माइती पक्षले विवाहमा असहमति जनाएको देखिन्छ ।मनिषा १ महिनाअघि माइती गएर बसेकी थिइन् । उनलाई लिन राजेन्द्र ४–५ दिनअघि ससुराली गएका थिए । तर, बालिकाको उमेर नपुगेको भन्दै ससुरा–सासूले उनलाई लैजान अनुमति दिएका थिएनन् ।
प्रहरीका अनुसार ससुराली पक्षबाटै भएको भनिएको आक्रमणपछि राजेन्द्रले आत्मरक्षाको नाममा हिंसात्मक घटना गराएको आशंका छ । यद्यपि, विस्तृत अनुसन्धान गरेर घटनाको कारण पत्ता लगाउने प्रयास प्रहरीले गरिरहेको छ ।
घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै चारै जनाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ । घटनाले स्थानीय त्रसित बनेका छन् ।गाउँमा आतंक फैलिएको छ । हत्याजस्तो जघन्य अपराध गरेर परिवारै सिध्याएको पाइएपछि गम्भीर ढंगबाट अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताए ।राजेन्द्रको घर भोजपुर नगरपालिका–२ हेलौँछा हो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो