मालवहाक सवारीको भारवहन मापदण्ड छड्के चेक

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा : कोशी राजमार्गको धनकुटामा पर्ने भेडेटार–चित्रे खण्डमा मालवाहक सवारीले भारवहन मापदण्ड पालना गरे नगरेको बारेमा छड्के अनुगमन शुरु गरिएको छ।

यातायात व्यवस्था सेवा कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाले ट्रक, टिपर, मिनीटिपर, ट्रेलर, सेमीट्रेलर, ट्रयाक्टरजस्ता मालवाहक वस्तु ढुवानी गर्ने साधनले मापदण्ड विपरीत क्षमताभन्दा बढी ओसारपसार गर्दा सडकमा क्षति पुगेको गुनासोपछि छड्के अनुगमन शुरु गरिएको हो।

केही दिनअघि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भारवहन निर्देशिका २०७४ कडाइका साथ पालना गराउने निर्णय गरेको थियो। तदनुसार अनुगमन शुरु गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताए।

राष्ट्रिय गौरवका आयोजनाको सामान बोकेका बाहेक अन्य ढुवानीका साधनले भारवहन मापदण्ड पालना नगरे संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा कोशी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ आकर्षित हुने यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख रमेशप्रसाद दाहालले बताए।

भारवहन मापदण्ड पालनामा प्रशासनले कडाइ गरे पनि कोशी राजमार्गको धनकुटा खण्डमा धर्मकाँटा नहुँदा समस्या हुने गरेको छ। सुनसरीबाट धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङलगायत पहाडी जिल्ला आउने ढुवानीका साधनले सुनसरीमै ‘तौल’ गराउँछन्।

धरान धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया