इटहरी । मोरङको धनपालथानस्थित कदमाको सिंगो गाउँमा भीषण आगलागी हुँदा २ बालबालिकाको ज्यान गएको छ भने लाखौंको धनमाल नष्ट भएको छ । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। अनित मियाकी छोरी ४ वर्षीया रेश्मा खातुनको जलेर मृत्यु भएको हो । मृत्यु हुने अर्का बालक रहेका छन् । आगलागीबाट हालसम्म १२–१३ वटा घरहरु जलेर नष्ट भइसकेको छ । प्रहरी चौकी कर्सियामा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर स्थानीयबासी, प्रहरी र रंगेली नगरपालिका , कानेपोखरी गाउँपालिका , बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका , बिराटनगर महानगरपालिकाको गरि ५वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । बिद्युतको तार सर्ट भई सो आगलागी भएको हुन सक्ने जनाइएको छ ।
यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा आजै अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिनको ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरू भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केपछि आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
आगलागीका कारण दुई घर भित्रका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको अर्का एकघरको सामान भने केही निकाल्न सफल भएको प्रहरीले बताएको ।
आगलागी सुरू हुनासाथ चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पर्याप्त नभएपछि छिमेकी रौतामाई गाउँपालिका र छिमेकी सप्तरीको कञ्चनपुर नगरपालिकाकोसमेत दमकल झिकाएपछि तीन दमकलको सहयोग, सशस्त्र प्रहरी, इलाका प्रहरी बेल्टार र स्थानीयवासीले आगो नियन्त्रणको भूमिका खेलेको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएका कारण अन्य छिमेकी घरहरू र टोलहरू सुरक्षित रहन पुगेको पनि इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बविन राईले बताए ।
यसैगरी, झापामा डढेलोबाट लाखौंको क्षति भएको छ । झापाका विभिन्न तीनवटा सामुदायिक वनमा लागेको डढेलो लाखौँको क्षति भएको वन समूहहरुले जानकारी दिएका छन् । मौसममा पश्चिकी वायुको प्रभावका कारण चलेको तीव्र गतिको हावाहुरीले डढेलोलाई थप सहयोग गरेको प्रहरीले जनाएको छ । डढेलोका कारण झापामा ठुलो क्षेत्रफलको वनमा क्षति पुगेको छ ।
सोमबार दिउँसो भद्रपुर ४ स्थित मायालु सामुदायिक वनमा लागेको आगलागीबाट ५० बिघाभन्दा बढी वन क्षेत्रमा क्षति पुगेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोली, भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै, दमक १० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ । तीव्र गतिको हावाहुरीका कारण आगो फैलिएर नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिका ६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको छ । हिजो साँझ लागेको आगलागीबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले जानकारी दिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो