कोशीमै मलको हाहाकार ः सुनसरी, मोरङ र झापाका किसानले पाएनन मल
खगेन्द्र कार्की
२८ असार २०८३, अाईतबार १०:१५ मा प्रकाशित
462
इटहरी/ धान रोपाइँको मुख्य समयमा सुनसरीका किसान रासायनिक मल नपाएर समस्यामा परेका छन्। खेतमा हिलो तयार पारेर रोपाइँ गरिरहेका किसान आवश्यक डीएपी मल नपाउँदा खेती प्रभावित भएको छ। सुनसरीसहित मोरङ र झापामा हालसम्म जम्मा २८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ भने ७२ प्रतिशत रोपाइँ अझै बाँकी छ। किसानहरूले समयमै मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
कोशी प्रदेशमा धान खेतीका लागि मात्रै ७३ हजार मेट्रिक टन डीएपी मल आवश्यक पर्ने भए पनि असार अन्तिम सातासम्म जम्मा ८ हजार ५३९ मेट्रिक टन मात्र आपूर्ति भएको छ। यो कुल आवश्यकताको करिब १२ प्रतिशत मात्रै हो। मल अभावका कारण सुनसरीका किसान डिलर, सहकारी र कृषि सामग्री संस्थानमा धाइरहेका छन्। घण्टौँ लाइनमा बसे पनि रित्तो हात फर्किनुपर्ने अवस्था रहेको किसानहरूले गुनासो गरेका छन्।
विशेषगरी धान रोप्ने बेला माटो हिल्याउँदा प्रयोग गरिने डीएपी मलको अभाव सबैभन्दा बढी देखिएको छ। डीएपी नपाएपछि किसानहरूले धान रोपेको करिब २२ दिनपछि प्रयोग गरिने युरिया मल हालेर काम चलाउन बाध्य भएका छन्। कृषि सामग्री संस्थानका अनुसार सुनसरीको इटहरी केन्द्रबाट धान खेतीका लागि हालसम्म २२५ मेट्रिक टन डीएपी मात्रै वितरण गरिएको छ, जुन मागको तुलनामा अत्यन्तै न्यून हो।
मल अभावको विषय प्रदेश र संघीय संसदसम्म पुगेको छ। प्रदेश सांसदहरूले तत्काल मल वितरणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। मोरङ–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष राजवंशीले प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कृषिप्रधान देशमा किसानले मल नपाउने अवस्था अन्त्य गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्।
कोशी प्रदेशका चार प्रमुख वितरण केन्द्रबाट साउनदेखि हालसम्म ६१ हजार ७०० मेट्रिक टन युरिया, १६ हजार ६०० मेट्रिक टन डीएपी र २ हजार २५० मेट्रिक टन पोटास वितरण गरिएको छ। धान खेतीका लागि विराटनगरबाट ५६० टन, इटहरीबाट २२५ टन, बिर्तामोडबाट १६५ टन र गाईघाटबाट ७१० टन डीएपी वितरण भए पनि यो मागको तुलनामा निकै कम रहेको सम्बन्धित निकायको तथ्यांकले देखाएको छ।
अहिले धानसँगै मकै खेतीका लागि पनि मलको माग अघिल्ला वर्षको तुलनामा झण्डै दोब्बर पुगेको छ। व्यावसायिक खेती विस्तार र रासायनिक मलमा बढ्दो निर्भरताका कारण समयमै मल उपलब्ध नहुँदा यस वर्ष सुनसरीसहित कोशी प्रदेशमा धान तथा मकै उत्पादन घट्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।
कृषि विभागका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा यस सातासम्म ४ लाख ४३ हजार ५९५ हेक्टर अर्थात् ३२ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ४५ प्रतिशत रोपाइँ भइसकेको थियो। सुनसरी, मोरङ र झापामा भने रोपाइँको गति झन् सुस्त रहेकाले मल अभावले यस वर्षको उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।