हालसम्म ४० हेलिकप्टर दुर्घटना हुँदा ९७ को निधन

फाष्ट मिडिया नेपाल संवाददाता

हालसम्म नेपामा विभिन्न समयमा गरी ४० वटा हेलिकप्टरहरू दुर्घटनामा परिसकेका छन् । विभिन्न कम्पनीका अहिलेसम्म भएका हेलिकप्टर दुर्घटनामा ९७ जनाको ज्यान गइसकेको छ ।

नेपालमा पहिलोपटक करिब ४५ वर्षअघि वि.सं. २०३६ पुस १२ गते (२७ डिसेम्बर १९७९) मा हेलिकप्टर दुर्घटनामा परेको थियो । भीभीआईपी उडानमा निस्किएको ‘नाइन एन–आरएई’ कलसाइन भएको उक्त हेलिकप्टर रसुवाको लाङटाङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो । त्यसको २७ वर्षपछि ताप्लेजुङको घुन्सामा सबैभन्दा ठूलो २४ जना ज्यान जाने गरी श्री एयरलाइन्सको नाइन एन–एएचजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । 

११ जनाको ज्यान जानेगरी सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटना नेपालको उड्ययन विगतमा दोस्रो ठूलो हेलिकप्टर दुर्घटना हो । ०५९ असोज १४ गते एसियन एयरलाइन्सको नाइन एन–एसीयू कलसाइनयुक्त हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।

२०६३ असोज ७ मा भएको उक्त दुर्घटनामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. हर्क गुरुङ, वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल लगायतको ज्यान गएको थियो ।

२०७५ फागुन १५ मा ताप्लेजुङको पाथिभरामा एयर डाइनेष्टीकै नाइन–एन–एएमआई कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

यसअघि ०८० असार २६ गते मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको छोलिङल लामजुरामा दुर्घटनामा परेको थियो । नाइन एन–एएमभी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म भएको ४० हेलिकप्टर दुर्घटनामध्ये १९ घटनामा भने कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरणको तथ्यांकले देखाउँछ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया