इटहरी उपमहानगरले विषादीयुक्त भारतीय आँप जफत् गरी नष्ट

फाष्ट मिडिया नेपाल संवाददाता

—: बबिता खड्का (गेलाल), इटहरी :—

इटहरी/ कृषिप्रधाम मुलुकमा सिजनमा आँप फल्ने स्थान धेरै छन् । आँपलाई सरकारले प्राथमिकता दिएर किसानलाई उत्प्रेरित गराउने हो भने सिजनका आँप भारतबाट ल्याउनै पर्दैन तर यहाँ भारतबाट यतिखेर बेसिजनका आँपले नेपाल रकम त भारत भित्र्याएको छ नै सँगै विभिन्न रोगब्याधि लगाएर भारतमै उपचार गर्न बाध्य बनाएका छन् । इटहरी मात्र होइन पूर्वी नेपालदेखि पश्चिम महाकालीसम्मका बजारहरुमा यतिखेर बेसिजनका केमिकलयुक्त आँपहरु बग्रेल्ती पाइन्छ । सबै ठाउँका फलफुल बजार आँपले पँहेलपुर छन्। नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप घरघरमा पुगिरहेका छन् ।

राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्व पनि नपाइने विज्ञहरु बताउँछन् ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञको सुझाव छ । कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ ।

यस्तै केमिकलयुक्त अस्वास्थ्यकर आँप इटहरी नगरपालिकाले फेला पारेको छ । हानिकारक, स्वास्थ्यप्रतिकूल रहने विषादीयुक्त भारतीय आँपहरु देशभरि छरिएका छन् जसको प्रमाण केही दिन अगाडि इटहरीमा फेला परेको हो ।

इटहरी उपमहानगरपालिकाको खाद्य अनुसन्धान टोली र नगर प्रहरीको संयुक्त अनुगमनबाट यस्तो रहस्य पत्ता लागेपछि सोही टोलीले इटहरीमा भेटिएका त्यस्त्ँ आँपहरु जफत गरेर इटहरीको फोहोर संकलन कम्पनी इटहरी वेस्ट एन्ड इन्भारो मेनेजमेन्ट प्रा.लि. को फोहोर प्रशोधन केन्द्रमा नष्ट गरिएको छ । विभिन्न अस्वास्थ्यकर केमिकलहरु हालेर स्वादमा फरक देखाउने मात्र होइन त्यसको गुणस्तरसमेत नखस्कन केमिकलकै प्रयोग गरेर, खास गरेर भन्ने हो भने विष हालेर बजारमा ल्याएको हो । यसको खोजी अब इटहरी मात्र होइन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्र अब तुरुन्तै अनुगमन गरेर गुणस्तर पत्ता लगाई यस्ता विष हालेका कुनै पनि खाद्यान्न बिक्रीवितरणमा पूर्णत रोक लगाउन आवश्यक देखिन्छ । स्वास्थ्यसँग खेलवाड हुनु भनेको केवल व्यापारिक अनैतिकता मात्रै होइन, जनताको जीवनमाथि भएको प्रत्यक्ष प्रहार हो” इटहरीका बौद्धिक युवा सन्तोष ढकाल बताउँछन् । नेपालमा प्रवेश गर्ने नाकामा नै कडा कदम चाल्नुपर्ने, सीमानामै परीक्षण र नियमन चुस्त नभए यस्ता विषादीजन्य वस्तुहरू निर्वाध भित्रिरहने, समाधान सतहमा होइन, जडमै खोज्नुपर्ने, समस्या नाकाबाटै नियन्त्रण गर्नुपर्ने, अनुगमन ‘शो’ मात्रै होइन, नियमित प्रक्रियामा गर्नुपर्ने अर्का बौद्धिक व्यक्तित्व कस्तुरी कलेजका प्रा. तेजेन्द्र चापागाईं बताउँछन् ।

राष्ट्रिय जनसहयोग कलेज डा. विष्णु खड्काले बजार अनुगमनलाई नाम मात्रको नभई साँच्चिकै प्रभावकारी बनाउन आग्रह गरे । उनले निरन्तर र पारदर्शी अनुगमनले मात्रै उपभोक्तालाई ढुक्क हुनेतर्फ सचेत र सतर्क रहन आग्रह पनि गरे । इटहरी –८ का स्थानीयवासी ठमनाथ लम्सालले –जनताको स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई कुनै हालतमा पनि उन्मुक्ति दिनुहुँदैन । उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ र कारबाही समाचारका लाइनमा सीमित हुनुहुँदैन कानुनी मिसाइल छेड्नुपर्ने तर्क अगाडि सारे । नागरिक समाज इटहरीका सदस्य बोधहरी आचार्यले यो अनुगमन केवल आँप वा केही फलफूलमा मात्र सीमित हुनुहुँदैन सम्पूर्ण खाद्यवस्तुहरूमा पनि यस्तै कडाइका साथ अनुगमन गरिनुपर्छ र हाम्रो खाना पकाउने भान्सा नै जोखिममा छ त्येसैले सम्पूर्ण खाद्य सामाग्री नै बिसादीमुक्त बनाउनुपर्छ ।“ अर्गानिक विकल्पलाई प्राथमिकता दिन उनको आग्रह थियो । इटहरीका शिक्षाविद् प्रेमप्रसाद न्यौपानेले भने “क्यामेरा–शो’ अनुगमन अब बन्द गरौँ, गुणस्तरीय र निष्पक्ष प्रणाली स्थापना गरौँ, स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई उन्मुक्ति होइन, उचित कानुनी उपचारको खोजी गरि उपभोक्ताको उपभोग गर्न पाउने उपभोक्ताको अधिकार हनन हुन् बाट– बचौ अनि बचाऔं ।  उनले थपे, “बिषादीयुक्त आप नष्ट गर्ने राम्रो काम भयो, अर्गानिक आँप किनेर खान पाए हुनेथियो, समाधान केवल नियन्त्रण होइन, स्वस्थ, अर्गानिक खाद्य विकल्पमा लगानी पनि हो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया