झापाका क्याम्पसहरुमा स्ववियु निर्वाचनको तयारी

खगेन्द्र कार्की

दमक । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि झापाका क्याम्पसहरुमा तयारी शुरु भएको छ । झापाका १३ वटा क्याम्पसहरुमा निर्वाचन हुन लागेको हो । स्ववियु चुनाव अन्तर्गत सोमबार देशभरका क्याम्पसहरुमा दिउँसो तीन बजेसम्म संघ÷संगठन दर्ता भएकाछन् । निर्वाचन कार्यक्रमअनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित, २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध र छानबिनको कार्यतालिका छ ।

निर्वाचन आयोगको कार्यालय स्थापना गरेर निर्वाचन कार्यक्रम शुरु गरिएको मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख देवी आचार्यले जानकारी दिए । झापामा सबैभन्दा बढी मेची क्याम्पसमा ३४५० जना विद्यार्थी रहेका छन् । जिल्लाका मेची बहुमुखी र गौरादह कृषि क्याम्पस गरी दुई आंगिकसहित १३ वटा क्याम्पसमा स्ववियू निर्वाचन हुन लागेको हो । मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली मेचीनगर, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई आदर्श क्याम्पस बिर्तामोड,कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, दमक क्याम्पस दमक, गौरीगञ्ज बहुमुखी क्याम्पस गौरीगञ्ज, सीतारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा, गौरादह कृषि क्याम्पस गौरादह, गरामुनी क्याम्पस बिर्तामोड, गौरादह बहुमुखी क्याम्पस गौरादह र काँकडभिट्टा बहुमुखी क्याम्पस मेचीनगरमा निर्वाचन हुन लागेको जनाइएको छ ।

जिल्लाका क्याम्पसहरुमा हुन लागेको स्ववियू निर्वाचनको सुरक्षाका लागि प्रदेशबाट सर्कुलर आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । विद्यार्थी संगठनहरुले आ–आफ्ना उम्मेदवार घोषणा गर्न थालेका छन् । यसक्रममा एमाले निकट अनेरास्ववियुले १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ । दुई वर्षअघि झापाका १३ वटा क्याम्पसमध्ये १० वटामा शान्तिपूर्ण रुपमा स्ववियू निर्वाचन भएको थियो भने काँकडभिट्टा क्याम्पस, सीतारमेश क्याम्पस र गरामनी क्याम्पसमा विवाद भएको थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया