
विराटनगर / विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कोशी प्रदेशकै पहिलो अत्याधुनिक बर्न (जलन) युनिट सञ्चालनमा आएको छ। यससँगै गम्भीर रूपमा जलेका बिरामीले उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईको उपस्थितिमा बर्न युनिटको उद्घाटन गरे। अस्पतालले तत्कालका लागि तीन शय्याको अत्याधुनिक युनिट सञ्चालनमा ल्याएको र छिट्टै सेवा विस्तार गर्ने जनाएको छ।अस्पतालका व्यवस्थापक दिपेश राईका अनुसार नेपाल सरकारको प्रादेशिक तथा संघीय अस्पतालमा बर्न सेवा विस्तार गर्ने नीतिअनुसार युनिट सञ्चालनमा ल्याइएको हो। यसअघि गम्भीर जलनका बिरामीलाई काठमाडौं वा भारत रेफर गर्नुपर्ने अवस्था रहेकामा अब विराटनगरमै विशेषज्ञ उपचार उपलब्ध हुने उनले बताए।प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका प्रमुख डा. अजय ढकालको नेतृत्वमा सञ्चालन हुने युनिटमा गम्भीर जलन उपचार, स्किन ग्राफ्टिङ, घाउ व्यवस्थापन, संक्रमण नियन्त्रण तथा आवश्यक शल्यक्रिया सेवा २४सै घण्टा उपलब्ध हुनेछ। उनका अनुसार जलनपछि सुरुआती केही घण्टा अत्यन्त महत्वपूर्ण हुने भएकाले विशेष बर्न युनिटमा समयमै उपचारले ज्यान जोगाउने सम्भावना बढाउनुका साथै दीर्घकालीन अपाङ्गता कम गर्न सहयोग पुग्छ।अस्पतालका सञ्चालक डा. सुनील शर्माले अत्याधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा प्रदान गरिने बताए। उनले बर्न सेवालाई थप सुदृढ र विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।यसैबीच, सरकारले १०० दिने कार्ययोजनाअन्तर्गत देशभर जलन उपचार सेवा विस्तार गरिरहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १४ संघीय र ४ प्रादेशिक अस्पतालमा बर्न युनिट सञ्चालनमा छन् भने १८ अस्पतालमा जलन उपचार वार्डको व्यवस्था गरिएको छ। साथै, जलन उपचारका लागि ३२६ स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
८ साउन २०८३, शुक्रबार १२:१८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो