गौरीशंकर शिवालयको प्राण–प्रतिष्ठा कार्यक्रम भव्य रूपमा सम्पन्न

खगेन्द्र कार्की

इटहरी । मोरङको भाउन्नेस्थित सुतार कार्की सेवा समितिद्वारा निर्मित गौरीशंकर शिवालय मन्दिरको प्राण–प्रतिष्ठा तथा सम्मान कार्यक्रम धार्मिक श्रद्धा र सामाजिक सद्भावका साथ भव्य रूपमा सम्पन्न भएको छ। करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा करिब ४० जनालाई सम्मान गरिएको थियो।

मन्दिर निर्माणका लागि पूर्वमन्त्री उपेन्द्र बहादुर कार्कीले करिब साढे ९ कठ्ठा जग्गा दान गरेपछि परियोजना थालिएको हो। हालसम्म दातृजनहरूको सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा निर्माणाधीन मन्दिर र ४० लाख रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा संस्थापक अध्यक्ष र १०० वर्षका ज्येष्ठ नागरिक अनुपस्थित रहँदा, समिति पदाधिकारी कर्णबहादुर कार्कीले अध्यक्षता गरे। संचालन राजेन्द्र कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा धर्मगुरु तथा पुजारीहरूले मन्दिरको दीर्घकालीन संरक्षणमा सम्पूर्ण स्थानीयवासीको सहभागिता आवश्यक रहेको बताएका थिए।

यस अवसरमा संरक्षक तथा महासचिव राजेन्द्र कार्कीले सेवा समितिको वंश–एकता, धार्मिक र सामाजिक कार्यप्रति निरन्तर प्रतिबद्धता व्यक्त गर्दै सबै सुतार बन्धुहरूलाई सहकार्यका लागि आग्रह गरे।

उपेन्द्र बहादुर कार्कीका सुपुत्र कमल बहादुर कार्कीले मन्दिर निर्माण कार्य १७ सदस्यीय कार्यसमिति र अग्रज दाजुभाइहरूको सक्रिय आर्थिक तथा भौतिक सहयोगमा अघि बढिरहेको जानकारी दिए।

कार्यक्रममा उपेन्द्र बहादुर कार्कीकी ८२ वर्षीया धर्मपत्नी शोभा कार्की, अन्य तीन ज्येष्ठ नागरिक, तीन विद्यालयका १८ विद्यार्थी, चार भजन गायिका र विविध चन्दादाताहरूलाई सम्मान गरिएको थियो।

सुतार कार्की कुलबंश प्रतिष्ठानका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की, हेम कार्की, हरिकुमार कार्कीलगायत करिब ३०० जना बन्धुहरूको उपस्थिति रहेको थियो।

धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणको सशक्त सन्देश बोकेको यस कार्यक्रमले स्थानीय सहकार्य, सद्भाव र साझा उत्तरदायित्वको भावना अझ प्रगाढ बनाएको सहभागीहरूको भनाइ छ।

खगेन्द्र कार्की
प्रतिक्रिया