इटहरीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारबारे सचेतना कार्यक्रम सम्पन्न

सुप्रिया राई

इटहरी । समाजमा अझै पनि “महिनावारी हुँदा फलफूल छुनु हुँदैन” वा “महिनावारी अपवित्र हो” भन्ने जस्ता भ्रम कायम रहँदा पुरुष पनि महिनावारी हुने विषय खुलेर भन्न गाह्रो हुने अवस्था रहेको बताइएको छ ।

इटहरीस्थित त्रियुगा होटलमा आयोजित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र अधिकार, स्वास्थ्य तथा सामाजिक सचेतना सम्बन्धी कार्यक्रममा यस्तो विषय उठान गरिएको हो । कार्यक्रममा विशेषगरी ट्रान्स मेनहरूले महिनावारीका समयमा अन्य महिलाहरूभन्दा बढी समस्या भोग्नु पर्ने अवस्था रहेको सहभागीहरूले बताएका छन् ।

बाहिर यात्रा गर्दा सार्वजनिक शौचालय प्रयोगमा विभेद सहनु पर्ने, समाजबाट अपमानजनक व्यवहार झेल्नु पर्ने लगायतका समस्या रहेको उल्लेख गरिएको थियो । कार्यक्रममा बोल्दै अधिकारकर्मी समाेन जी सीले जन्मँदा महिला भए पनि हुर्कने क्रममा पुरुषजस्तो स्वभाव, पहिचान र अनुभूति विकास हुने तथा शल्यक्रियामार्फत शरीरलाई पुरुषजस्तै बनाइएका व्यक्तिलाई ट्रान्स मेन भनिने जानकारी दिए ।

कार्यक्रम संयोजक मनिषा थापाले समाजमा अझै पनि गलत सोच, हेपाहा प्रवृत्ति र विभेदपूर्ण व्यवहार कायम रहेकाले धेरै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू मानसिक तनावमा बाँच्न बाध्य भएको बताइन् ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका अल्पसंख्यक समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । साथै, समुदाय लक्षित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियाे ।

सुप्रिया राई
प्रतिक्रिया