संसद विघटन गर्दै पूर्वप्रधानन्यायधीस सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्तिको तयारी

दयाराम कटेल

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

राष्ट्रपति भवन शीतल निवासमा यस्तो सहमति जुटेको जेनजी अभियन्ता रक्षा बमले पुष्टि गरिन् । उनको आजै पौने ९ बजे सपथ गराउने तयारी भएको छ ।

यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए । संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् । जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन् ।

यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। त्यस विषयमा पनि विस्तृत छलफल भएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूको सम्पत्ति छानबिन गर्ने सम्बन्धमा आफूहरूको आपत्ति नरहेको बताएका थिए। उनले भिडियो सन्देश जारी गरेर नेताहरूमाथि पनि छानबिन हुनुपर्ने बताएका थिए।


दयाराम कटेल
प्रतिक्रिया