झापा–५ मा चुनावी अभियान तिव्र, बालेनले प्रदेश तहको भ्रम तोडे

खगेन्द्र कार्की

दमक । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं. ५ देशकै सबैभन्दा चासोको केन्द्र बनेको छ । नेकपा ९एमाले० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रधानमन्त्री उम्मेदवार बालेन्द्र साह (बालेन) बीचको प्रतिष्पर्धाले यो क्षेत्र राजनीतिक रूपमा अत्यधिक चर्चित बनेको हो ।

रास्वपाका उम्मेदवार साहले हालै पुनः क्षेत्र प्रवेश गरी गाउँ–गाउँमा भेटघाट र छलफल सुरु गरेका छन् । मंगलबार सुकुम्बासी बस्तीमा स्थानीयहरूसँग संवाद गर्दै उनले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा भ्रमपूर्ण भएको टिप्पणी गरे । उनले भने, “प्रदेश संरचनामा न्यून खर्च हुन्छ, मन्त्री र सांसदको तलबले देश कमजोर भएको होइन ।”

साहले यसअघि २०७९ को निर्वाचनमा प्रदेश सभाको मतदान बहिष्कार गरेका थिए । तर यसपटक उनले प्रदेश तहको आवश्यकता स्वीकृत गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापार विषयमा छुट्टाछुट्टै नीति ल्याउने घोषणा गरेका छन् । उनका अनुसार, फागुनको पहिलो साता पार्टी, प्रधानमन्त्री उम्मेदवार र झापा–५ का लागि छुट्टाछुट्टै घोषणापत्र सार्वजनिक गरिनेछ ।

उता, एमालेले पनि टोल तहसम्म निर्वाचन परिचालन समिति गठन गरी प्रचार–प्रसार तीव्र पारेको छ । दमक, गौरादह, कमल र गौरीगञ्जका वडामा महिला, युवा, विद्यार्थी र मजदुर समूहमार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क अभियान सुरु गरिएको छ । गौरिगञ्जमा मात्र ५०७ सदस्यीय प्रचार समिति बनाइएको निर्वाचन परिचालन संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।

यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा, राप्रपा, जनमत पार्टीलगायत दलका उम्मेदवार पनि सक्रिय छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र अन्य शीर्ष नेता स्वयं क्षेत्रमै पुगेर कार्यकर्तालाई परिचालन गराइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापा–५ मा १ लाख ६३ हजार ३७९ मतदाता छन्, जसका लागि ६१ मतदानस्थल र १८५ मतदान केन्द्र तोकिएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया