‘म निर्दोष छु’ भन्दै दाइसँग गरेका थिए अन्तिम संवाद, आत्मदाह गरेका गणेश नेपालीको निधन

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ।
निधन हुनुअघि वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा गणेशका दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक बने। अस्पताल पुगेपछि गम्भीर अवस्थामा रहेका गणेशले सकिनसकी आफू निर्दोष रहेको बताएका थिए।
‘उसले मलाई "म निर्दोष छु" मात्र भन्यो,’ मदनले भक्कानिँदै भने।
मुगुको सोरु गाउँपालिकाका स्थायी बासिन्दा गणेश पछिल्लो समय भक्तपुरको कमलविनायकमा बस्दै काठमाडौंमा ‘पठाओ’ चालकका रूपमा काम गर्दै आएका थिए। मदनका अनुसार घटनाको दिन बिहान उनले नै भाइलाई काममा पठाएका थिए।
‘पर्सि–निकपर्सि बाइकको किस्ता तिर्ने दिन थियो। त्यसैले बिहानै उठाएर पठाओ गर्न जाऊ भनेर पठाएको थिएँ,’ उनले भने, ‘अरूलाई डिस्टर्ब नहोस् भनेर उसले बाइक स्टार्ट नगरी सडकसम्म डोर्‍याएर लगेको थियो। मैले बनाएको सिमी र खुट्टाको मासु खान पनि नपर्खी ऊ काममा निस्किएको थियो।’
बिहीबार राहदानी विभागअगाडि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याए पनि उनको शरीरको ठूलो भाग गम्भीर रूपमा जलेको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सुरुदेखि नै जटिल थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले आत्मदाह प्रयासको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
नेपालमा आत्मदाहका घटना विरलै हुने गरे पनि समय–समयमा व्यक्तिगत, आर्थिक तथा सामाजिक कारणसँग जोडिएर यस्ता घटना सार्वजनिक हुँदै आएका छन्। २०७९ माघमा नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको पनि निधन भएको थियो। त्यसयता आत्मदाहका घटनाले मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा र संकटमा रहेका नागरिकलाई समयमै सहयोग उपलब्ध गराउने विषयमा गम्भीर बहस जन्माउँदै आएका छन्।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया