इटहरी । कैलालीको गौरीगङ्गा नगरपालिका(७ महुलिया गाउँमा गएराति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उनको उपचार भइरहेको छ ।
मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र ६ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिए । करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई(तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उनको हातमा समेत डसेको घटनास्थल पुगेका डगौरा थारूले बताए ।
‘सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते बन्न पुगेकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुऱ्याइएको थियो’, वडाध्यक्ष डगौरा थारूले भनेका छन्, ‘पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो ।’
घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए । बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्लाबाहिर रहेको बताइएको छ ।
गर्मीयाममा खासगरी तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको छ । सर्पले डसेपछि घरमै झारफुक गराउने र अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने कतिपय समुदायको प्रवृत्तिले सर्पको टोकाइका बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँछन् । अस्पतालमा सर्पको डसाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । खानाको खोजीमा मानिसको घर वरिपरि आइपुग्ने सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । घरवरिपरि सरसफाइ गर्नमा लापरवाही गर्दा लुकेर बसेको सर्पले मानिसलाई डस्ने जोखिम रहन्छ । हिउँदयाममा जमिनमुनि लुकेर बस्ने सर्प गर्मीयाममा जमिनको सतहमा निस्किने गर्दछ ।
सर्पको टोकाइबाट हुनसक्ने जोखिम कम गर्न धनगढी क्षेत्रमा उपमहानगरपालिका कार्यालयको प्रहरी टोली ९रेस्क्यू टोल० ले नगरवासीको घरपरिसरमा फेला पर्ने सर्पलाई समातेर जङ्गलमा लगेर छाड्ने गरेको छ । टोलीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र खड्काले यो वर्षमात्र नगरपालिका क्षेत्रभित्र विभिन्न व्यक्तिको घरपरिसरबाट सात सयभन्दा बढी सर्प समातेर सुरक्षित रूपमा जङ्गलमा छोडिएको जानकारी दिए ।
‘हालको गर्मी मौसममा बढीमा दैनिक आठ वटासम्म सर्प समातेर जङ्गलमा छाड्ने गरेका छौँ, मानिसको घरको कोठा, काठको ऱ्याक, पुरानो फ्रिज, दराज र घरबारीमा भेटिने सर्प समात्ने गरेका छौँ’, खड्काले भने । सर्प समात्नका लागि सम्बन्धित परिवारले अनुरोध गरेलगत्तै आवश्यक सामग्रीसहित आफूहरूको ‘रेस्क्यू टोली’ परिचालित हुने गरेको उनको भनाइ छ । गर्मी मौसममा तराईका जिल्लामा गोमन, करेत, पानीसर्प, धामन, अजिङ्गर बिगबिगी हुने गर्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो