विगतको झै हाइब्रिडको मूलबिउको अभावमा किसान चिन्तित

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । कृषि प्रधान मुलुकमा कृषि उत्पादनका विभिन्न प्रयोगहरु पछिल्लो समयमा हुँदै गएका छन् । उन्नतजातको प्रविधियुक्त कृषिबाट धेरै ठाउँका उत्पादनहरु फलदायी समेत भएका छन् । कति उत्पादनहरुले अन्तर्राष्ट्रिय बजार पाएका छन भने कतिपय बिउ, मल र अन्य समस्यामा रुमल्लिएका छन् ।

प्राप्त समाचार अनुसार, लगातार ५ बर्षदेखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन थालेको छ । सरकारको विऊ उत्पादन तथा अनुसन्धान केन्द्रबाट पूर्व मुल विऊ नै भने जस्तो उपलव्ध नहुँदा खेती गर्न समस्या जेल्नु परेको किसानले गुनासो पोखेका छन् । नेपालमा समूदाय र निजी स्तरमा मकैको हाइव्रिड विऊ उत्पादन गर्नेहरुको संख्या औंलामा गन्न सकिन्छ । तर कोशी प्रदेशमै बृहतरुपमा उन्नत मकैको विऊ खेतीमा लागेको ८० विगाहमा सामुहिक खेती गर्दै आएको नमूना एकिकृत खेतीमा यो बर्ष पूर्व मुल विऊकै अभावमा भने जस्तो खेती गर्न नसकेको खेतीका अध्यक्ष वेदनिधि चापागाँईले बताए । चापागाँइका अनुसार स्रोत विउ नै गुणस्तर प्राप्त हुन नसक्दा उत्पादनमा समस्या भएको बताए ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्याक्रमको सहयोगमा झापाको गौरादहमा संचालित नमूना एकिकृत खेतीले ५ बर्ष देखि हाइव्रिड मकैको विऊ उत्पादन गर्दै आएको छ । अघिल्लो बर्ष झण्डै १५ टन उत्पादन गरेको विऊ पनि विक्रीमा समस्या भएको खेतीका व्यवस्थापक अर्जुन खतिवडाले बताए । खतिवडाका अनुसार अघिल्लो बर्ष उत्पादन गरेको ४० लाख मुल्य बराबरको विउ विक्री गर्न धेरै समस्या भएको बताए ।  बजारमा नेपालको विउ प्रति विश्वास हुन नसकेका कारण गुणस्तरहीन भए पनि भारतीय विउ नै किसानले रूचाउने गरेको उनले बताए । नेपालमा १ सय मेट्रिक टन हाराहारीमा मात्र हाइव्रिड मकैको विऊ उत्पादन हुँदै आएको छ । तर देश भर झण्डै साढे ९ लाख हेक्टर क्षेत्रफलमा हुँदै आएको मकै खेतीको १५ प्रतिशत क्षेत्रमा ३ हजार मेट्रिक टन हाराहारीमा हाइव्रिड मकैको विऊ खपत हुँदै आएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया