विर्तामोड । नेपाली कांग्रेसका संस्थापक सभापति एवं समाजवादी दर्शनका प्रणेता महामानव वि.पी. कोइरालाको ४३ औं स्मृति दिवस देशभर विविध रचनात्मक कार्यक्रम गरी मनाइएको छ ।
नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादी विचार प्रवाह गरेका वि.पी. कोइरालाले नेपाली साहित्यमा मनोवैज्ञानिक दर्शन मार्फत समाज सुधार, जनअधिकार र समानताका विषय उठान गरेका छन् । नेपाली राजनीति र नेपाली साहित्यमा उत्तिकै उचाई हासिल गर्न सफल वि.पी.को दर्शनका विषयमा स्मृति दिवसको अवसर पारेर चर्चा–परिचर्चा गरिएको छ ।
यही दिवसको सन्दर्भमा नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समितिले आयोजना गरेको आँखा शिविर कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले वि.पी. कोइरालाले आफ्नो सर्वश्व गुमाएर प्रजातन्त्र र जनअधिकारका लागि आजीवन संघर्ष गरेको बताए ।
यसै दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस भद्रपुर नगर समिति र वि.पी. स्मृति प्रतिष्ठान झापाको आयोजनामा भद्रपुर–१० स्थित वि.पी.को शालिक परिसरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका उपसभापति एव कार्यक्रमका प्रमुख अतिथि केशवराज पाण्डेले काँग्रेसले एककदम पछि हटेर सम्झौताको राजनीति गर्नु बाध्यकारी भएको चर्चा गरे । कतिपय सामाजिक सञ्जालले पार्टी र नेताका विषयमा गरेका गलत प्रचारले उत्पन्न गरेका भ्रम चिर्नुपर्नेमा उनले जोड दिए ।
नेतृत्वका गलत क्रियाकलापको खुलेर आलोचना गर्न सक्नुपर्ने धारणा राख्दै उनले बि.पी. कोइरालाले पार्टी बचाउन नेतृत्वको आलोचना अनिवार्य भएको शिक्षा दिनु भएको प्रसङ्ग चर्चा गरे ।
यसैबीच नेपाली कांग्रेस झापा गाउँ समितिले विचार गोष्ठी सम्पन्न गरेको छ । ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्य र अन्जुदेवी थपलियाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जगन्नाथ राजवंशी, सन्तोष नेपाल, अनिता केसी, पुष्पा प्रसाई, सौरव सिटौला, राजकुमार यादव लगायतले वि.पी.को विचार र वर्तमान राजनीतिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
यसैबीच ४३ औं वि.पी. स्मृति दिवसको सन्दर्भ पारेर नेपाल प्रजातन्त्र सेनानी संघ झापाले विचार गोष्ठी सम्पन्न गरेको छ । संघका महासचिव तेजप्रसाद सुवेदीको प्रमुख आतिथ्य र झापा अध्यक्ष लिलक सिटौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष ज्ञानमणि भुर्तेलले जानकारी गराए ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–५, प्रदेशसभा ख को आयोजनामा दमक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ । पार्टीका केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको नेतृत्वमा अस्पताल पुगेको कांग्रेस कार्यकर्ताको टोलीले विरामीलाई फलफुल वितरण गरेको प्रदेशसभा क्षेत्रीय सभापति रवि न्यौपानेले जानकारी दिए ।
यसै दिवसको सन्दर्भ पारेर शिवसताक्षी वडा नं–६ ले शिवगञ्ज–धरहरा चोकमा विभिन्न जातका विरुवा रोपेको छ । नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मथुरा श्रेष्ठ, दिपेन पाठक, वडाध्यक्ष मनोज खुलाल कार्की लगायत थुप्रै नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
४३ औं वि.पी. स्मृति दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको संयोजन र नेपाल तरुण दल अर्जुनधारा–७ नम्बर वडा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कविन्द्र सिटौलाको सभापतित्व र नगर सभापति हेमराज खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २० पिन्ट रगत संकलन भएको बताइएको छ ।
नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले वि.पी. स्मृति दिवसको अवसर पारेर कालिका बन उपभोक्ता समितिको हाताभित्र फलफुल र अन्य विभिन्न जातका १५० विरुवा रोपेको छ । गाउँ सभापति गंगाप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बडाराम हेमरम, इन्द्र कार्की, विष्णु गौतम, भुपाल बस्नेत लगायतले मन्तब्य राखेका थिए ।
यसै सन्दर्भमा कनकाइ नगरपालिकास्थित वि.पी. बन बाटिकामा विचार गोष्ठी सम्पन्न भएको छ । कनकाइ नगर सभापति दुर्गाप्रसाद प्रसाईको सभापतित्व र ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कविता बस्नेत, कनकाइ–५ का वडाध्यक्ष लगायतले मन्तब्य राखे । कार्यक्रमको सञ्चालन उदित दाहालले गरेका थिए । ।
४३ औं वि.पी. स्मृति दिवसकै अवसर पारेर नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजना र नेपाल विद्यार्थी संघ झापा र नेपाल खेलकुद संघ झापाको सहभागितामा स्थानीय साधुहोेली सिमसार पर्यटकीय क्षेत्रमा विभिन्न जातका सयबढी विरुवा रोपेको छ । कमल गाउँ समिति सभापति खगेन भण्डारीको अध्यक्षता र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, राजनबहादुर ढुङ्गाना लगायतले मन्तब्य राख्नुभएको थियो । पदम निरौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन खेम खनालले गरेका थिए ।
यसैबीच नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिले स्थानीय भागिरथा न्यौपाने स्मृति अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको छ । २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्य र मनेष दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ सय बढी विरामी तथा कुरुवाहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रमको सञ्चालन कृष्ण खतिवडाले गरेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो