प्रतिनिधी सभा चुनावमा जनप्रतिनिधि होमिएपछि स्थानीय तहमा ठुलो रिक्तता

फाष्ट मिडिया नेपाल संवाददाता

कोशीबाट धरानका मेयर साम्पाङसहित ६ जना चुनावी मैदानमा

इटहरी । आसन्न प्रतिनिधी सभाको निर्वाचनमा स्थानीय सरकार सञ्चालन गरिरहेका जनप्रतिनिधिहरू राजिनामा दिएर उम्मेद्वार भए पछि ठुलो रिक्तता देखिएको छ  । आफ्नो कार्यकाल नसकिदै संसदीय चुनावमा गाउँ–नगरका प्रमुख–उपप्रमुख देखि वडाअध्यक्ष सम्म जाँदा नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहमा रिक्तता देखिएको हो ।

काठमाडौंका बालेन्द्र शाह, धरानका हर्क साम्पाङ र भरतपुरकी रेनु दाहालजस्ता चर्चित मेयरहरूले नै पदबाट राजीनामा दिएर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पदबाट राजीनामा दिएर झापा ५ आएका छन् । त्यस्तै,   अर्का चर्चित मेयर पनि प्रधानमन्त्री बन्ने आकाङ्क्षासहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ बाट सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् । २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र विजयी भएका साम्पाङले पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरेका थिए । धरानमा मेयर मात्र होईन, वडाअध्यक्ष पनि संसदीय निर्वाचनमा आएका छन् । धरानमा साम्पाङसँगै मनोज भट्टराईले पनि प्रतिस्पर्धा गर्दैछन्, जो वडाध्यक्षबाट राजीनामा दिएर सांसद बन्ने दौडमा लागेका हुन्। भट्टराईले धरान उपमहानगरपालिका–१७ को वडाध्यक्ष पद त्यागेका हुन् । 

यस्तै, चितवनको भरतपुर महानगरपालिकामा विकासको पर्यायका रूपमा स्थापित भइसकेकी रेनु दाहालले पनि दोस्रो कार्यकाल पूरा नगर्दै राजीनामा दिएकी छिन्। नेकपाले उनलाई चितवन क्षेत्र नम्बर ३ बाट टिकट दिएपछि उनी राष्ट्रिय राजनीतिमा होमिएकी हुन् ।

कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले पनि आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएर कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । यस्तै, रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल पनि मेयर पद त्यागेर मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो। इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले पनि पदबाट राजीनामा दिएर इलाम–१ बाट नेकपाको तर्फबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ)ले पदबाट राजीनामा दिए । उनलाई नेकपा एमालेले काभ्रे–२ बाट उम्मेदवार बनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिवसमेत रहेका राई बाँके क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् ।

ठूला सहरका मेयर मात्र होइन, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूको लर्को पनि उत्तिकै छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा दुई कार्यकाल जितेका अध्यक्ष मेजर कुमार राईले पद छाड्दै उदयपुर–२ बाट उम्मेदवारी दिएका छन् । तत्कालीन माओवादी केन्द्रबाट अध्यक्ष जितेका राईले यस पटक नेकपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा नेकपाले सुरेश कुमार राई ‘हिमाल’ लाई उम्मेदवार बनाएको छ । त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा पनि दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेले चुनावी मैदानमा उतारेको हो । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पनि राजीनामा दिएर सोलुखुम्बुबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि स्थानीय तहको पद त्यागेर संसदीय यात्रा तय गरेकी छिन्। उनी नेकपा एमालेका तर्फबाट ओखलढुङ्गाबाट उम्मेदवार बनेकी हुन् । संसदीय मोहले वडा तहका जनप्रतिनिधिहरूलाई समेत तानेको छ। वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह राजीनामा दिएर रास्वपाबाट चुनाव लड्दैछन् भने वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंह पनि राजीनामा दिएर उज्यालो नेपाल पार्टीका तर्फबाट पर्साबाट उम्मेदवार बनेका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया