कोशी प्रदेशको राजधानी विराटनगर शैक्षिक हव बन्दै

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर शैक्षिक हब बन्दै गएको बताएका छन् । 

विराटनगरस्थित बाल कल्याण विद्यामन्दिर (विकेभिएम) स्कुलले आयोजना गरेको विद्यार्थी सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर शिक्षा र स्वास्थ्यको हब बन्दै गएको बताएका हुन् । एम वी वी एस र इन्जिनियरिङको प्रवेश परीक्षामा विराटनगरका कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति पाउनुले विराटनगर शिक्षाका लागि मुलुककै अग्रणी सहर बन्दै गएको दाबी गरे । वि के भि एमका १६ जना विद्यार्थीले एमवीवीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति पाएका छन् । जसमध्ये एमवीवीएसको प्रवेश परीक्षामा १६ हजारभन्दा बढी परीक्षार्थीलाई पछि पार्दै विकेभिएमका विद्यार्थी परफिन यादव देशभरमै दोस्रो भएका छन् । मेयर कोइरालाले विराटनगरमा शैक्षिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरे । उनले विराटनगरमा कोशी प्रदेश मात्रै नभएर मधेश प्रदेश र अन्य प्रदेशका विद्यार्थी पनि अध्ययन गर्न आउनुले शैक्षिक पर्यटनको सम्भावना अति धेरै रहेको बताए । विकासको जग शिक्षा भएकाले महानगरले शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले सुनाए । कार्यक्रममा मेयर कोइरालासहित विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, विद्यालयका प्रिन्सिपल रविन दाहाल, भाइस प्रिन्सिपल अञ्जली दाहाल लगायतले विद्यार्थीहरुलाई अविर र माला लगाएर सम्मान गरेका थिए ।।


खगेन्द्र कार्की
प्रतिक्रिया