अविरल वर्षाको वितण्डा : रामेछापमा पहिरोमा परेर ६ जनाको निधन, ४ बेपत्ता, १ जना गम्भिर घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । असार २८ देखि निरन्तर परेको अविरल वर्षाको वितण्डाले रामछोपमा शनिबार राती ६ जनाको ज्यान गएको छ भने ४ जना हराईरहेका छन् ।  रामेछापको शैलुङ गाउँपालिका–३ मा राति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको हो । छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष,  ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारी अनुसार शनिबार राति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी गराए । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।

जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई माआवादी अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनले उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उद्दार कार्यमा आवश्यक सहयोग र सहकार्यमा जुटेका पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवादसहित जनसेवामा निरन्तर जुट्न निर्देशन दिएका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया