साउन नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई एकैसाथ जोड्ने महिना हो। असारभरि खेतबारीमा रोपाइँ गरेर हिलो र पानीसँग संघर्ष गरेका किसानका लागि साउन विश्राम, स्वास्थ्य र नयाँ ऊर्जाको सन्देश बोकेर आउने समय हो। यही महिनाको पहिलो दिन मनाइने साउने संक्रान्तिले केवल पात्रोको अर्को महिना सुरु भएको संकेत मात्र गर्दैन, यसले प्रकृति, कृषि, स्वास्थ्य, धर्म र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने नेपाली जीवनपद्धतिको परिचय पनि दिन्छ।
साउने संक्रान्तिका दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायन सुरु हुन्छ। वैदिक परम्परामा उत्तरायण र दक्षिणायन दुवैलाई विशेष धार्मिक महत्वका साथ हेरिन्छ। यस दिन स्नान, दान, पूजा र आफन्तसँगको भेटघाटले सामाजिक सम्बन्धलाई पनि अझ प्रगाढ बनाउने विश्वास छ। नेपाली समाजमा पर्वहरू केवल धार्मिक कर्मकाण्डमा सीमित छैनन्, तिनले समाजलाई जोड्ने, प्रकृतिसँग नजिक बनाउने र जीवनलाई सन्तुलित राख्ने सन्देश पनि दिएका छन्।साउने संक्रान्तिसँग जोडिएको अर्को महत्वपूर्ण परम्परा हो— 'लुतो फाल्ने'। आजका पुस्तालाई यो केवल एउटा सांस्कृतिक कर्मकाण्ड जस्तो लाग्न सक्छ, तर यसको वैज्ञानिक र स्वास्थ्यसम्बन्धी पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। असार महिनाभर किसान हिलो, पानी र खेतमा निरन्तर काम गर्छन्। त्यही क्रममा छालामा संक्रमण, घाउ, चिलाउने समस्या वा अन्य रोग देखिन सक्ने सम्भावना बढ्छ। यही अवस्थाबाट मुक्तिको कामना गर्दै औषधीय गुण भएका कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता वनस्पति प्रयोग गरेर 'लुतो फाल्ने' परम्परा विकास भएको मानिन्छ।अगुल्टो फाल्ने, शंख फुक्ने, नाङ्लो ठटाउने वा घण्ट बजाउने जस्ता परम्परा अन्धविश्वास मात्र नभई रोग, दुःख र नकारात्मकतालाई जीवनबाट टाढा राख्ने सांकेतिक अभिव्यक्ति पनि हुन्। यसले प्रकृतिले दिएका औषधीय वनस्पतिको प्रयोग र सरसफाइको महत्वलाई पनि स्मरण गराउँछ। आधुनिक चिकित्सा विज्ञानको विकास हुनुअघि यस्ता परम्पराले समुदायलाई स्वास्थ्यप्रति सचेत बनाउने भूमिका खेलेका थिए।साउनलाई भगवान् शिवको प्रिय महिना मानिन्छ। त्यसैले देशभरका शिवालय, विशेष गरी पशुपतिनाथमा प्रत्येक सोमबार भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। शिव केवल धार्मिक आस्थाका देवता मात्र होइनन्, उनी प्रकृति, तपस्या, संयम र सन्तुलित जीवनका प्रतीक पनि हुन्। साउनमा शिवको आराधना गर्नु भनेको प्रकृतिप्रति सम्मान, आत्मसंयम र सकारात्मक जीवनशैलीतर्फ उन्मुख हुनु पनि हो।साउनसँग जोडिएको अर्को चर्चित परम्परा हो महिलाले हरियो चुरा, हरियो साडी वा हरियो पोशाक लगाउने चलन। नेपाली समाजमा हरियो रंगलाई हरियाली, उर्वरता, समृद्धि, आशा र दीर्घायुको प्रतीक मानिन्छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै हरियो चुरा लगाउने, मेहेन्दी लगाउने र शिव–पार्वतीको पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार माता पार्वतीले कठोर तपस्या गरेर भगवान् शिवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। त्यसैले साउनमा पार्वतीको श्रद्धापूर्वक पूजा गर्दा वैवाहिक जीवन सुखमय हुने विश्वास रहिआएको छ।तर समयसँगै यी परम्परालाई नयाँ दृष्टिकोणबाट बुझ्न पनि आवश्यक छ। आज महिलाले हरियो चुरा लगाउनु केवल श्रीमान्को दीर्घायुको कामना मात्र होइन, आफ्नै संस्कृति, पहिचान र पर्वप्रतिको सम्मानका रूपमा पनि हेर्न थालिएको छ। समाज परिवर्तनसँगै परम्पराको अर्थ पनि फराकिलो बन्दै गएको छ। परम्पराको संरक्षण गर्दै त्यसलाई समानता, सम्मान र आधुनिक चेतनासँग जोड्नु आजको आवश्यकता हो।साउनले वातावरणीय चेतना पनि सिकाउँछ। यो महिना प्रकृति सबैभन्दा हराभरा हुने समय हो। वनस्पति, नदी, खेत र पहाड सबै जीवन्त देखिन्छन्। यही हरियालीको सम्मान गर्दै वृक्षारोपण, वातावरण संरक्षण र प्राकृतिक स्रोतको सदुपयोग गर्ने सन्देश पनि साउनले दिन्छ। प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम नगर्दा जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपद्का समस्या बढिरहेको वर्तमान सन्दर्भमा साउनको सन्देश अझ सान्दर्भिक बनेको छ।नेपाली समाजका पर्वहरू केवल विगतका परम्पराको निरन्तरता होइनन्, ती पुस्तान्तरण हुँदै आएको ज्ञान, अनुभव र जीवनशैलीका धरोहर पनि हुन्। साउने संक्रान्ति, लुतो फाल्ने परम्परा, शिव आराधना र हरियो संस्कृतिले स्वास्थ्य, प्रकृति, परिवार, आस्था र सामाजिक एकतालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेका छन्।यसैले साउनलाई केवल धार्मिक कर्मकाण्ड वा फेसनको महिना भनेर बुझ्नु पर्याप्त हुँदैन। यसको मूल सन्देश प्रकृतिप्रतिको सम्मान, स्वास्थ्यप्रतिको सचेतना, परिवारप्रतिको समर्पण, सांस्कृतिक पहिचानको संरक्षण र समाजमा सकारात्मक ऊर्जा फैलाउनु हो। यही सन्देशलाई आत्मसात् गर्न सके साउनको वास्तविक महत्व अझ गहिरोसँग अनुभूति गर्न सकिनेछ।
३३ असार २०८३, शुक्रबार ०८:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो