केराबारीमा सार्वजनिक सुनुवाई सम्पन्न

खगेन्द्र कार्की

केराबारी । केराबारी (मोरङ)  उत्तरी मोरङको विकट केराबारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा भएका विकास निर्माण र सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ गर्दै स्थानीयवासीबाट सुझाव, गुनासा र जिज्ञासा संकलन गरेको छ । कार्यक्रममा सहभागी स्थानीयले सडक, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइमार्फत गाउँपालिकाले सुशासन, पारदर्शिता, सामाजिक उत्तरदायित्व र जवाफदेहितालाई थप मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ ।
कार्यक्रममा स्थानीयवासीले विशेषगरी वर्षायाममा हिलाम्मे र जीर्ण बन्ने ग्रामीण सडकको स्तरोन्नति, नियमित खानेपानी आपूर्ति, दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि उत्पादनको बजारीकरण तथा सिँचाइ व्यवस्थापनमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै, युवाका लागि रोजगारीमूलक तथा सीप विकासका कार्यक्रम, विद्यालयको शैक्षिक गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरण, वन्यजन्तुबाट हुने क्षति नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज र प्रविधिमैत्री बनाउनुपर्ने सुझावसमेत दिएका थिए ।
स्थानीयले कृषि अनुदान तथा विकास योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शी बजेट खर्च र नियमित अनुगमनमा समेत गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
गाउँपालिका अध्यक्ष मिरिङचिङले सार्वजनिक सुनुवाइमा उठेका सुझाव र गुनासालाई गाउँपालिकाले गम्भीरतापूर्वक लिने बताउँदै आवश्यक सुधारका लागि कार्ययोजना बनाएर कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । उनले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीच विश्वास अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विकास निर्माण र सेवा प्रवाहलाई थप उत्तरदायी, पारदर्शी र जनमुखी बनाइने बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया