देश तथा विदेशका खबर– समाचार संक्षेप

फाष्ट मिडिया नेपाल संवाददाता

गर्भनर पौडेलविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

दमक । गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । जेठ ६ मा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएका पौडेलविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल समेतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । इजलासले मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिन भने आदेश गरेको छ । 

जंगली हात्तीले मेचीनगरमा घर भत्कायो

मेचीनगर । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले मेचीनगरमा घर भत्काएर क्षति पुर्याएको छ । मंगलवार बिहानको राति ३ बजे मेचीनगर ४ मनकामना टोल बस्ने सुबर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो । भान्सा घर भत्काई भान्सा घरमा रहेको खाद्यान्न, अन्य सर–सामान गरी अन्दाजी ५० हजारबराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता युवकको शव फेला

उदयपुर । उदयपुरमा नुहाउने क्रममा त्रियुगा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । सोमबार साँझ बेपत्ता भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६, कालीखोलाका ३० वर्षीय सुरज राईको शव मंगलबार दिउँसो भेटिएको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुलमुनि नुहाउने क्रममा सुरज बेपत्ता भएका थिए । अहिले पोस्टमार्टमका लागि शव नगर अस्पताल बेल्टार ल्याइएको छ। पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीको भनाइ छ ।


गोली प्रहारबाट लागुऔषध कारोबारी पक्राउ

भद्रप्ुर । झापाको भद्रपुरबाट प्रहरीले केहीबेर अघि गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका – ८ को ओमसाई पाथीभरा अस्पताल नजिकबाट गोली प्रहार गरी उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो । प्रहरीले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । उनको ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।  लागूऔषध कारोबारीको नाम, वतन खुल्न सकेको छैन ।

आरक्षमा जंगली हात्ती मृत फेला

इटहरी । सुनसरीको बराहक्षेत्र –११ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा एउटा जंगली हात्ती मृत फेला परेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको कोर इलाकानजिकै रहेको सप्तकोशीको भंगालोमा आरक्षका कर्मचारीहरुले जंगली भाले हात्ती मृत अवस्थामा फेला पारेका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत तथा नेपाली सेनाको टोली खटिएर करिब ५० वर्षको भाले हात्ती शरीरको आधा भाग पानीमा डुवेको अवस्थामा फेला पारी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया