केही दिनअघि भोजपुरमा ५ सय किलो गाँजासहित त्यसको कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परे । यस्तै झापाको लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ८ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित कारोबारीलाई नियन्त्रणमा लियो । मोरङको विराटनगर–१६ बाट ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगर बरामद भयो भने प्रहरी चौकी बेलबारीले प्रतिबन्धित औषधि ६३० ट्याब्लेटसहित कारोबारीलाई पक्राउ ग¥यो । यी घटना मात्रै होइनन् । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पछिल्ला दिनहरूमा सात जना पक्राउ परिसकेका छन् ।
यसले के देखाउँछ भने पूर्वी नेपाल लागूऔषध कारोबारको संवेदनशील मार्ग बन्दै गएको छ । सीमावर्ती जिल्ला भएकाले झापा हुँदै लागूऔषध भित्रिने, त्यसपछि मोरङ र सुनसरीमार्फत देशका अन्य भागमा फैलिने क्रम निरन्तर छ । प्रहरीका यस्ता कारबाहीले दैनिक रूपमा सेवनकर्ता, साना कारोबारी वा रोजीरोटीका लागि भरियाका रूपमा प्रयोग गरिएका व्यक्ति नियन्त्रणमा त आइरहेका छन् । तर, यति हुँदा पनि यसको मूल आयातकर्ता गिरोहसम्म सुरक्षा संयन्त्र पुग्न सकेको छैन ।
लागूऔषध समस्या केवल कानुनी विषय मात्र होइन, यो सामाजिक, आर्थिक र नैतिक संकट पनि हो । ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजाजस्ता नशालु पदार्थले एउटा पुस्तालाई बिस्तारै क्षय गरिरहेको छ । अपराध, चोरी, हिंसा, घरेलु कलहदेखि गम्भीर सामाजिक विचलनसम्मको मूलमा लागूऔषध जोडिएको पाइन्छ । यसले युवालाई श्रम, शिक्षा र सिर्जनशीलताबाट टाढा धकेल्दै अपराधको दलदलमा पु¥याउँछ ।
चुनावको मुखमा यस्ता गतिविधि झनै बढ्ने जोखिम हुन्छ । अवैध धन, लागूऔषध र आपराधिक समूहबीचको साँठगाँठले निर्वाचन प्रक्रियालाई समेत दूषित पार्न सक्छ । त्यसैले अहिलेको अवस्था सामान्य कानुनी कारबाहीभन्दा धेरै गम्भीर रणनीतिक हस्तक्षेपको माग गर्छ । केवल पात छाँटेर विषवृक्ष नष्ट हुँदैन । जरा सम्म पुग्नैपर्छ ।
यसका लागि सीमामा कडाइ, अन्तरदेशीय समन्वय, संगठित गिरोहको वित्तीय श्रोतमा प्रहार, राजनीतिक र प्रशासनिक संरक्षण तोड्ने साहसिक कदम आवश्यक छन् । साथै, सेवनकर्ताका लागि उपचार र पुनःस्थापनाको व्यवस्था सुदृढ गर्नुपर्छ । आयात नै रोक्न नसकेसम्म, भित्रिने क्रम नियन्त्रण नगरेसम्म, समाजलाई लागूऔषधको चंगुलबाट मुक्त गर्न सकिँदैन । अब आधा उपायले होइन, जरा उखेल्ने दृढ इच्छाशक्तिका साथ अघि बढ्न जरुरी छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो