प्रधानमन्त्री केपी ओलीको गृहनगरमा (हजुरबुबा)को क्षेत्रमा नाती प्रसाईको गर्जन

खगेन्द्र कार्की

दमक । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले तेस्रो वार्षिकोत्सव दमकमा मनाएको छ । 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको दमकमा आयोजित कार्यक्रममा ओलीलाई हजुरबुबा भनिरहने अभियानका संयोजक दुर्गा प्रसाईले ओली र नेकपा एमालेको विरुद्धमा प्रशस्तै कटाक्ष गरे । केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा तेस्रो वार्षिकोत्सव मनाउनुको तात्पर्य नेकपा एमालेलाई साफ गर्नु हो भन्ने भनाईबाट मन्तव्य सुरु गरेका प्रसाईले ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने जिम्मा चन्द्र ढकालले लिएपनि उनी कारिन्दा मात्र भएको र यो सबै एमाले र केपी ओलीको लगानीमा बन्न लागेको दावी गरे । कम्बोडियामा ओलीले करोडौ रकम राखेको कुरा अझै दोहो¥याउँदै आएका प्रसाईले कम्बोडियाका प्रधानमन्त्री हुसेन ओलीको पार्टनर भएको आरोप लगाउँदै अहिले खड्गप्रसाद ओलीको नाम र हस्ताक्षरसमेत परिवर्तन गरी अर्कै ब्यक्तिको नाममा गइसकेको र यसको सबै प्रमाणहरु आफूसंग रहेको दावी गरे ।

अब छिट्टै महाकालीको फाइल खोल्ने र क(कसले कति पैसा लिएको छ सार्वजनिक गर्ने र अरु १७ वटा फाइल पनि क्रमशः खोल्दै जाने उनले चेतावनी दिए । एमालेका नेता तथा कार्यकर्ताहरुलाई डिउटीमा रहेको प्रहरी कुटेपनि, भ्रष्टाचार र बलात्कार गरे पनि कानुन नलाग्ने भन्दै अब पीडीएफले युवा संघलाई ठिक पार्ने उनको चेतावनी थियो । वरिष्ठ अधिवक्ता स्वागत नेपालले अब दमक केपी ओलीको क्षेत्र नरहेर दुर्गा प्रसाईंको क्षेत्र भएको दावी गरे । अबको २०८४ को निर्वाचनमा झापाबाट केपी ओली उठे दुर्गा प्रसाईंले जमानत जफत् गराउने चेतावनीसमेत दिए ।

दुर्गा प्रसाईंले सार्वजनिक गरेको कम्बोडिया काण्ड संसदमा कुरा उठिसकेकोले ओलीलाई कारबाही गर्न यो सरकार विघटन गरेर नागरिक सरकार गठन गर्नु पर्ने नेपालको जिकिर थियो ।

राजनीतिक विश्लेषक खेमराज सेढाईले केपी ओलीले ३ करोडको घडी र १ लाखको जुत्ता लगाउने हैसियत कहाँबाट प्राप्त भएको भन्दै जनताले खोज्ने बेला आएको धारणा राखे । यो देशलाई दुर्गा प्रसाईंको खाँचो भएको र अब प्रत्येक नेपाली सडकमा निस्किनु पर्ने बेला आएको उनको भनाई थियो ।

दमक–७ पशुहाटस्थित खुल्ला चौरमा अभियानको कार्यक्रम आयोजना गरिएको थियो । अभियानका केन्द्रीय सचिवालय सदस्य दुरेन राईको अध्यक्षता तथा केन्द्रीय संयोजक दुर्गा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजनीतिक विश्लेषक खेमराज सेढाई, केन्द्रीय प्रवक्ता तथा स्वकीय सचिव माधवप्रसाद खतिवडा (माधब कल्पित), अभियानका संगठन बिभाग प्रमुख प्रेम थापा मगर, ऋण एशोसिएसन संयोजक देवी संग्रौला, यातायात बिभाग प्रमुख सानु पूर्वछाने मगरलगायतको उपस्थिति रहेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया