संस्कृति जोगाउने राष्ट्रिय पर्व “दशैं”

फाष्ट मिडिया नेपाल संवाददाता

यस पटकको दशैंको अविगत पनि उस्तै भयो जस्तो विगतकेही वर्षदेखि मान्दै आएका छौं । चाडपर्व नेपालीका सम्पत्ति हुन । यिनको संरक्षण र सम्बद्र्धनमा जुट्नु नेपालीको कर्तव्य हो । यहि कर्तव्यलाई हर्ष र उमंगमा परिणत गर्दै दशैं, तिहार मनाउने गरिन्छ । विगत वर्षको भन्दा फरक अनुभूति, उमंग र हर्ष नबोकेको तर संस्कार, संस्कृति जोगाउँदै एकता, सद्भाव कायम गर्न यो पर्व सफल भएको छ । छुट्टिएका, टुक्रिएका र सम्बन्धमा दरार आएका मनहरुलाई एकत्रित गर्दै एक ठाउँमा भेला गरेर पारिवारिक माहोलमा आफन्त, नातागोता, इष्टमित्र, छरछिमेकीलाई एकता, भाइचाराको सुत्रमा बाध्ने सांस्कृतिक पर्वको रुपमा दशैंलाई लिइन्छ ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ–आफ्नै परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्रायः सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसै’ भनिएको हो। यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत्साह, उमंग एवं रौनक निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरी अभीष्ट सिद्धि तथा शक्ति आर्जन गर्ने समय हो भने गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जनको पर्व हो।  

विभिन्न जातजाति, धर्म र सम्प्रदायको साझा फुलबारीमा मनाइने हरेक चाडले राष्ट्रियताको झझल्को दिने र सोही अनुरुप मनाइने गरिएको छ त्यसमा पनि दशैं आफैमा राष्ट्रिय पर्व, एकताको पर्व, भेटघाट र आर्शिवादको पर्व पनि भएकाले यसको छुट्टै महत्व र आशीर्वाद र सम्मानको पर्व मान्यजन र कुलवृद्धले आफूभन्दा सानालाई भगवतीको प्रसादस्वरूप टीका र जमरा लगाइदिन्छन् र आफूले जानेको आशीर्वाद पनि दिन्छन् । दसैंमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा दुर्गा भवानीको पूजाआजा गरिन्छ । शक्तिपीठ र घरमा समेत भगवतीलाई प्रतिष्ठा गरेर नौरथाभरि भगवतीका गुणानुवादले युक्त दुर्गा सप्तशती पाठ, जप, अनुष्ठान र नाचगान समेत गर्ने संस्कार र संस्कृति बोकेको दशैंमा यिनै पुजापाठ, अनुष्ठानले भरिएका भरमूलीबाट आर्शिवाद संस्कृति मौलाउँदै गएको छ । 

पछिल्लो समयमा दशैं तडकभडक र देखासेखीको पर्वमा रुपान्तरण हुँदैन । यहि तडकभडक र देखासेखीका कारणले कति गरिबहरुको घरबार उजाडिएको छ । तसर्थ यो नितान्त सांस्कृतिक राष्ट्रिय पर्व हो । यो पर्वको भावना र मर्म अनुसार संस्कार संस्कृतित जोगाउने मात्र रहेको हुँदा आफ्नो गच्छे र आर्थिक पहुँचका आधारमा दशैं मनाउने गरौं । 

दुःख, सुख, जोडजाम, खोजी मेली जे जसरी दशैंको उल्लासले छोए पनि सबैका लागि दशैं साझा बन्न सकोस् । सबैलाई एकताको सुत्रमा बाँधेर लैजान सकोस् । दशैं सबैका लागि, सँधैका लागि शुभ रहोस् र हाम्रा ज्येष्ठ अभिभावकले दिएको आर्शिवाद पुस्तौ पुस्तासम्मलाई धानोस्, लागोस । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया