विषम परिस्थितिका बाबजुद देशभरका घरघरमा फुलपाती भित्र्याँदै

खगेन्द्र कार्की

दमक । विषम परिस्थितिका बाबजुद पनि सांस्कृतिक पर्व दशैंले उत्साह थपेको छ । जेनजीको भदौ २३ र २४ को आन्दोलनका क्रममा ठूलो मानविय क्षति देश व्यहोरेको अवस्था छँदा छँदै पीडानुभूतिका साथ सांस्कृतिक पर्वको महिमा र पवित्रतालाई कायम राख्दै देशभर दशैंको रौनकता थपिएको छ । त भर्खरै देशका लागि आहुति दिने ति तमाम सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । 
सोही क्रममा आज दमक, आसपाससहित देशभर घरघरमा फुलपाती भित्र्याँदैछ । सोमबार बिहान ७ः१७ बजे फूलपाती र श्री तुलजाभवानी यात्रा तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । फुलपाती भित्र्याउन विभिन्न जातजातिका आ–आफ्नै संस्कृति हुन्छन । आ–आफ्नै परम्परागत रितिस्थिति अनुसार नेपालका सबै जातिहरु दशैंको सुरुआत गर्ने गर्दछन् । दशैंको खास दिन पनि आजैदेखि सुरु भएको छ । आजदेखि सबै सरकारी तथा निजी कार्यालयहरु बन्द गरिन्छ । रोजगारीका लागि देश परदेशमा रहेका सबै घर फर्किसकेका हुनेछ । समय अभाव भएर वा अन्य कारणले फर्किन नसकेकाहरु पनि अष्ठमी वा नवमीसम्म घर आइपुग्छन । 
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याईन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आब्ह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । 
आजको दिनलाई फूलपाती पनि भनिन्छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने प्रचलन रहेको ज्योतिष लक्ष्मीप्रसाद ढकाल बताउँछन् ।
उनका अनुसार कालो स्वरुप भएकाकारण कालरात्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ ।
आजै फुलपाती भित्र्याईने
यसदिन घरकोतमा फूलपाती पनि भित्राउने गरिन्छ । सप्तमीको दिन फूलपातीस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तु हरु लाई वाजा वजाउँदै बधिवित लगेर घर भित्र अथवा कोट मन्दिर हरुमा भित्रयाउने गरिन्छ । यसलाई नवपत्रीका पनि भनिन्छ । यसदिन कालरात्रीको पूजा गरि गुडनैवेद्य लगाउना तथा दान गर्नाले मनुष्य शोक मुक्त हन्छ भनिएको छ ।
काठमाडौँको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याईने प्रचलन रहेको छ  । गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक दशैं घरमा भित्र्याईन्छ ।
नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्वपूर्ण शक्ति पीठहरूमा पु¥याउने चलन छ । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्रर्याइने चलन पनि छ ।
त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आराधना गरी भित्र्याउने सो समयमा नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाई गर्ने गर्दछन् ।
यसैबीच, नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्ने प्रचलन रहेको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशिला कार्कीदेखि प्रधानसेनापति, उच्च ओहदाका सबै विशिष्ठ श्रेणीका कर्मचराी, राजनीतिक दलका नेताहरु, न्यायमुर्तिहरु, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, गृहमन्त्री, मन्त्रीगण सबैको उपस्थिति रहने परम्परा रहेको छ । 
बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गदै बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गर्ने प्रचलन पनि छ । सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया