लागुऔषध दूव्र्यसन रोकथाममा कोशी प्रदेश सरकार : होल्डिङ सेन्टरलाई रिहाब सेन्टर बनाउन प्रस्ताव

खगेन्द्र कार्की

विराटनगर । लागुऔषध दुव्र्यसन रोकथाम गर्न कोशी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले विराटनगर जोगवनी नाकामा रहेको होल्डिङ सेन्टरलाई अस्थायी रूपमा रिहाब सेन्टर बनाउने तयारी थालेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले होल्डिङ सेन्टरलाई अस्थायी रूपमा प्रयोगमा ल्याउनेबारे नेपाल प्रहरीसँग छलफल भइसकेको र चाँडै योजना बनाएर लागुऔषध रिहाब सेन्टरका रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको बताए । उनका अनुसार नजिकै रहेको जोगबनी र सुनसरीको भन्टाबारी, झापाको काँकडभिट्टा र भद्रपुर नाकाबाट भारतीय बजारमा गएर लागुऔषध सेवन गरेर फर्कने युवाको संख्या दैनिक सयौँ हुने गरेको छ । यसैले विराटनगर नाकाको मात्र नभएर झापाको मेचीनगर नगरपालिका–१० धाइजनमा रहेको होल्डिङ सेन्टरलाई पनि अस्थायी रूपमा प्रयोगमा ल्याउनबारे छलफल भइरहेको छ । 

पहिले भारतीय बजारमा गएर लागुऔषध सेवन गरेर फर्कनेलाई पहिचान गरी प्रहरीले नाकामै खोलिएको रिहाब सेन्टरमा काउन्सिलिङ गरेर छाड्ने गरेको थियो । तर, बजेटको अभावमा रिहाब सेन्टर बन्द भएपछि हिजोआज युवाहरू लागुऔषध सेवन गरेर निर्धक्क फर्कने गरेका छन् । प्रहरीले अहिले ओसारपसारमा संलग्नलाई मात्र नियन्त्रणमा लिने गरेको छ । 

पछिल्लो समय कोशी प्रदेशमा लागुऔषध दुव्र्यसनी र ओसारपसारको घटनामा वृद्धि भएको छ । गत २ जेठमा मोरङको रतुवामाई र उर्लाबारीबाट लागुऔषध ब्राउनसुगरसहित २० जना पक्राउ परेका थिए । जेठ दोस्रो साता इलाका प्रहरी रानीले एकै दिन डेढ सयजना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३० जना अट्ने क्षमताको हिरासत कक्ष भए पनि थुनुवा धेरै भएकाले जिल्ला प्रहरी मोरङको हिरासतमा पठाउनुपरेको थियो । कोशी प्रदेशसँग सिमाना जोडिएको भारत बिहार राज्यमा मदिरा प्रतिबन्ध भएपछि त्यहाँ लागुऔषधका दुव्र्यसनी चौगुणा बढेका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया