राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक : महाधिवेशनको कार्यतालिका पेस गर्न तीन नेतालाई जिम्मा

फाष्ट मिडिया नेपाल संवाददाता

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको आगामी महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न समिति गठन गरेको छ। महाधिवेशनको मिति तत्काल तोक्न माग गर्दै आएका असन्तुष्ट समूहका नेता एवं महामन्त्री धवलशमशेर राणासमेतलाई समेटेर राप्रपाले शुक्रबार मिति प्रस्ताव गर्न समिति गठन गरेको हो।

पार्टी उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहेको समितिलाई आगामी बैठकमा महाधिवेशनको मितिसहितको कार्यतालिका पेस गर्ने जिम्मेवारी दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। राणाले शुक्रबारको बैठकमा आगामी महाधिवेशनको मिति तोक्न माग गरेका थिए।

तर, अध्यक्ष राजेन्द्र लिङ्देनले २५ जिल्लाको अधिवेशन मात्र सम्पन्न भएको अवस्थामा केन्द्रीय महाधिवेशनको मिति तोक्नु व्यावहारिक नहुने टिप्पणी गरेका थिए। त्यसपछि लिङ्देनले नै तीनजना नेतालाई जिम्मेवारी दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ। असन्तुष्ट नेता राणासमेतलाई महाधिवेशनको जिम्मा दिएपछि पार्टीभित्रको विवाद तत्कालका लागि पछि सरेको एक नेताले टिप्पणी गरे।

श्रेष्ठका अनुसार जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको छ। आमनिर्वाचनका कारण स्थगित रहेका स्थानीय तथा जिल्ला अधिवेशनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि पार्टीले गरेको छ।

बैठकले महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समीक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन समिति बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने निर्णय गरेको छ।

प्रवक्ता श्रेष्ठका अनुसार निकट भविष्यमा पार्टीको महाधिवेशन हुने भएकाले विधानबमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेश सभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा दत्तचित्त भएर जुट्न पार्टी पंक्तिलाई बैठकले आह्वान गरेको छ।

यसैगरी, राप्रपाले संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले पार्टीसँग माग गरेको सुझावका लागि पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरेको छ। राप्रपाले पार्टीको स्थापित मान्यता र घोषणापत्रको भावनाअनुसार संविधान संशोधनको सुझाव पेस गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया