झापामा साथीभाईको रिसिइबीले दुई किशोर थापा र तामाङको मृत्यु
फाष्ट मिडिया नेपाल संवाददाता
१९ असार २०८२, बिहिबार ०३:३७ मा प्रकाशित
1076
झापा। साथीभाईभित्रको रिसिइबीका कारण झापामा विद्यार्थीको कुटाईबाट दूई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि शिवसताक्षी–९ कै १९ वर्षीय रोमन थापाको असार १४ गते मृत्यु भएको थियो । सोही वडाको संगमचोकका १५ वर्षीय आदित्य तामाङको पनि उपचारका क्रममा मृत्यु भएको छ । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो ।
केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि ‘जा’ भनेर पठाएका थिए। तर, केही समयपछि पुनः बोलाएर सोही समूहले कुटपिट गरेको थियो ।
कुटपिटपछि आदित्यले परिवारमा घटनाबारे जानकारी गराएका थिएनन् । त्यसैले उनी अस्पताल जान ढिला भएको थियो । कुटपिट भएको भोलिपल्ट आदित्य ट्युसन सेन्टरमा आएनन् तर विद्यालयमा भने उपस्थित भएका थिए । विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए । त्यसपछि स्वास्थ्य बिग्रँदै गएपछि मात्र उनलाई बिएन्डसी अस्पताल लगिएको थियो । बुधबार दिउँसो उपचारकै क्रममा उनको सोही अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गत शुक्रबार दिउँसो उपचारका लागि अस्पताल लगिएको थियो।