लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन : अधिकार मागेर होइन खोसेर लिनुपर्छ : अधिकारकर्मी

खगेन्द्र कार्की

दमक/ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारबाट समापन भएको छ । झापाको दमक नगरपालिकाले पनि नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम गरी अभियानमा संलग्न संघ संस्था, व्यक्ति तथा सरकारी कार्यालयका प्रतिनिधिहरुलाई खादा ओढाएर सम्मान तथा समीक्षात्मक सचेतना कार्यक्रम गरी समापन गरेको  छ । समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व संघीय सांसद महेन्द्रा कुमारी सुब्बाले महिलाहरुले आफ्नो हक अधिकार मागेर होइन, खोसेर लिनुपर्ने र त्यसका लागि सकेको संघर्ष गर्नुपर्ने बताइन् । संविधानमा पुरुष र महिलालाई समान हैसियतमा राख्न खोजेको भन्दै राजनीतिक,  सामाजिक र आर्थिक अधिकारका लागि पुरुष सत्तासँग लड्ने कुरामा घरभित्र होस् या बाहिर सामाजिक रुपमा कहिल्यै पछि हट्न नहुने भनेर सहभागी महिलाहरुलाई उत्साह दिइन्  ।

गत नोभेम्वर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न मितिमा विभिन्न अधिकारवादी संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा नगरका विभिन्न वडामा गरिएका लैङ्गिक हिंसाविरुद्धका विभिन्न कार्यक्रम तथा गतिविधिमा सहयोग पु¥याउनेहरुको कार्यक्रममा सहभागिता रहेको थियो । त्यस अवसरमा दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले महिलाहरुले आफूहरुमाथि हिंसा भएमा त्यसलाई लुकाएर होइन्, देखाएर प्रतिरोध र सामना गरी हिंस्रकलाई कारवाहीको भागीदार बनाउन पछि पर्न नहुने प्रष्ट पारिन् । नगर उप–प्रमुख भट्टराईले दमकमा कुनै पनि खालका हिंसा हुन नदिन नगरपालिकाले सकेको प्रयास गरिरहेको पनि बताइन् । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले लैङ्गिक हिंसाविरुद्ध के कसरी अघि बढ्ने भनेर नगरपालिकाले नीति, योजना र कार्यक्रमहरु बनाएको  साथै त्यसका लागि बजेटको व्यवस्था गरेको  तर महिलाको हितका कार्यक्रमका लागि सो बजेट न्यून भएको यथार्थ पनि खुलाए ।  प्रमुख प्रशासकीय अधिकृत कार्कीले नगरपालिकाको नीति र कार्यक्रहरुका बारेमा प्रस्तुति गरेका थिए भने स्थानीय शासन सबलीकरण कार्यक्रमका तर्फबाट द एशिया फाउण्डेशनका कोशी प्रदेश संयोजक श्याम सापकोटाले राजनीतिमा महिला सहभागीताका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यसहितको तथ्य र तथ्यांकहरुका बारेमा जानकारी गराएका थिए । दमक बहुमुखी क्याम्पसकी प्राध्यापक राधिका ओझाले महिलाहरुले जहिल्यैपनि आफूहरुले पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने विश्व मानवअधिकारको मान्यतालाई भुल्न नहुने भन्दै म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा हुन दिन्न भन्ने मूल मन्त्रलाई आत्मसात गरेका आफ्ना कार्यव्यवहारहरुले अघि बढाउनुपर्ने बताइन्  । त्यस क्रममा महिला अधिकारकर्मी लता चापगाईले पनि महिला हक, हित र अधिकारका कुराहरु राखेकी थिइन् । दमक नगरपालिका सामाजिक विकास समितिकी संयोजक शारदा सापकोटा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुमित्रा वाङ्देल चेली र कार्यक्रम सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले गरेकी थिईन ।

खगेन्द्र कार्की
प्रतिक्रिया