मौसम पूर्वानुमान महाशाखा र कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले गरेको अध्ययनका आधारमा कोशी प्रदेशलाई विपद जोखिमका आधारमा ‘रेडजुन’मा राखिएको छ । २० लाख मानिसहरु प्रभावित हुने र कम्तीमा १० प्रतिशतलाई राहत वितरण गर्नुपर्ने आँकलन उनीहरुको रहेको छ । कोशी प्रदेशका मेची, बिरिङ, निन्दा, कनकाइ, चिसाङ, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत सानाठूला खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सूचित गरिएको छ । यसैपनि जेठ १७ गते मनसुन भित्रनु पूर्व नै आएको वर्षातले पूर्वी नेपाल निकै अस्तव्यस्त बनाएको जगजाहेर नै छ । झापा गाउँपालिकामा २२ घर डुबानमा मात्र परेनन कतिपय स्थानमा आवतजावत नै बन्द भयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, नेपालमा बंगालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए । जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ । कोशी प्रदेशका १४ जिल्लाका १ लाख १६ हजार ८१८ घरधुरी बाढी, डुबान र पहिरोको उच्च जोखिममा छन् । ती मध्ये २४ सय ६६ घरधुरीलाई तत्काल स्थान्तरण गर्नूपर्ने देखिएको विपद् विज्ञरामकुमार दाहाल बताउँछन् । तराईको जिल्ला झापाका तीन पालिका पनि पहिरोको प्रकोपमा छन् । तीन पालिकामा १ सय ८० घरधुरी पहिरोको जोखिममा रहेको दाहालले बताए । हिमताल विष्फोटको जोखिमसमेत उत्तिकै रहेको छ ।
विपद् विद तथा मौसम पूर्वानुमानले यतिका प्रक्षेपण वा आँकलन गरिरहँदा सरकार भने निन्द्रामा परेको देखिन्छ । देशका तीन तहकै सरकार यस विषयमा गम्भिर देखिएका छैनन । जतिबेला जे पर्छ त्यही बेला गरौं भन्ने पुरातनवादी सोच नै अहिले पनि हावी रहेको देखिन्छ । यस विषयमा खासगरी स्थानीय सरकार प्रदेश सरकारको बढी चासो र चिन्ता हुनुपर्ने त्यस्तो देखिएको छैन । विपद्मा जिम्मेवारी बोध नगरिदिँदाको परिणाम नै भोलिका दिनमा हुने क्षतिले कतिको उठिबास हुने हो अत्तोपत्तो छैन । विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न जनचेतना, पूर्वतयारी, समयमै सतर्कता र जोखिमयुक्त क्षेत्रको पुनःस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ । प्रदेश सरकारले विपत व्यवस्थापनको लागि चालु आवका १९ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटको बेलैमा सदुपयोग हुन सक्यो भने र सम्भावित खतराबाट बचाउने उपाय निकाल्न सकियो भने आम प्रभावित परिवारको बेलैमा उद्दार हुन्छ भन्ने हेक्का तीन तहकै सरकारमा हुन आवश्यक छ । त्यतिकै सचेततासहित सजग र सम्वेदनशिल प्रभावित क्षेत्रका बासिन्दा पनि हुन आवश्यक देखिन्छ । उनीहरुले बेलैमा त्यो अनुसारको खबरदारी गर्ने, होहल्ला गर्ने र त्यहाँको वस्तुस्थितिका आधारमा विपद् रोक्न नसकेपनि न्युनिकरणमा ध्यान बीदिन उत्तिकै जरुरी छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो