इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ तालिका सार्वजनिक

खगेन्द्र कार्की

एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ ।

आईपीएलमा लिग चरणका ४८ खेल सम्पन्न भइसकेका छन् भने अब २२ खेल मात्र बाँकी छन् । यसअघि लिग चरणसम्मको तालिका सार्वजनिक भएकामा अब प्लेअफको तालिका पनि सार्वजनिक भएको हो ।

प्लेअफ अन्तर्गत शीर्ष दुई टोलीबीचको क्वालिफायर १ मे २६ मा हिमाचल प्रदेश क्रिकेट स्टेडियम धर्मशालामा हुनेछ, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।

त्यसपछि तेस्रो र चौथो स्थानमा रहेका टोलीबीचको एलिमिनेटर मे २७ मा चण्डीगढस्थित न्यु पीसीए अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

यही मैदानमा मे २९ मा क्वालिफायर २ खेलाइनेछ, जहाँ क्वालिफायर १ को पराजित टोली र एलिमिनेटरको विजेता टोलीबीच फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल भने मे ३१ मा गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आयोजना हुनेछ । धर्मशाला र चण्डीगढ दुवै पन्जाब किङ्सको घरेलु मैदान हो भने नरेन्द्र मोदी स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो ।

यस सिजन विशेष परिस्थितिका कारण प्लेअफ खेलहरू तीन फरक मैदानमा सञ्चालन गरिने जनाइएको छ । यसअघि फाइनल बेंगलुरुमा हुने तय भए पनि स्थानीय निकाय र व्यवस्थापनसम्बन्धी कारणले स्थान परिवर्तन गरी अहमदाबाद सारिएको बीसीसीआईले जनाएको छ ।

प्लेअफ तालिका

पहिलो क्‍वालिफायर ः मे २६ (धर्मशाला)

इलिमिनेटरः मे २७ (चण्डीगढ)

दोस्रो क्‍वालिफायर ः मे २९ (चण्डीगढ)

फाइनल ः मे ३१ (अहमदाबाद)

टुर्नामेन्ट

खगेन्द्र कार्की
प्रतिक्रिया