विद्युतका ग्राहकको उज्यालोका नायक कुलमानप्रति जनताको सम्मान

फाष्ट मिडिया नेपाल संवाददाता

नेपालको ऊर्जा क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याउने व्यक्तिको नाम हो—कुलमान घिसिङ । विद्युत प्राधिकरणको अस्तव्यस्त र जिर्ण अवस्थामा उनले देखाएको नेतृत्व, दूरदृष्टि र इमान्दारीताले उनलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि सम्मानित बनाएको छ । हालै बहराईनमा भएको अभिनन्दन कार्यक्रमले फेरि एकपटक पुष्टि ग¥यो कि जनताले नायक चिन्छन्—चाहे जुनसुकै राजनीतिक सत्ता किन नहोस् ।
घिसिङको कार्यकाल कुनै सामान्य प्रशासनिक जिम्मेवारी थिएन । १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्नु, घाटामा गइरहेको विद्युत प्राधिकरणलाई नाफामा बदल्नु, ठूला व्यवसायिक समूहहरूबाट वर्षौंदेखिको बक्यौता असुल गर्नु—यी सबै कार्य उनले राजनीतिक हस्तक्षेप बिना, जनहितलाई प्राथमिकतामा राख्दै सम्पन्न गरे । उनी नेतृत्वमा रहँदा प्राधिकरण नाफामा गयो, विद्युत उत्पादन र वितरणमा सुधार आयो, र उपभोक्ताले वास्तविक परिवर्तन महसुस गरे । जलस्रोतको तेस्रो धनी देश नेपालमा उपलब्ध पानीको सदुपयोग गर्दै विद्युत उत्पादन र निर्यातमा जोड दिएर अन्तर्राष्ट्रिय बजारमा नेपाली विद्युत पु¥याए ।
तर दुःखको कुरा के हो भने, यस्ता कर्मशील र परिणाममुखी नेतृत्वलाई राजनीतिक असहिष्णुता र शून्य अंकको मूल्यांकनद्वारा बर्खास्त गरिएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पदमुक्त गर्दा जनमानसमा ठूलो असन्तोष पैदा भएको थियो । जनताले आफूले हेरेको उज्यालोको नायकसँग अन्याय भएको महसुस गरे । पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीत्व कालमा विद्युतमा खेपेको सास्ती जनताले अझै भुल्न सकेका छैनन । हरपल, हरक्षण वैकल्पिक उज्यालोको व्यवस्था गरेर बस्नुपर्ने अवस्थाको अन्य गर्न आशा, भरोसा र विश्वासको एक मात्र पात्र कुलमान घिसिङ रहेको कारणले जनदबाब बढी भएपछि प्रचण्डले उनैलाई नियुक्ति दिएका थिए ।
यो प्रसंगले एउटा गम्भीर सन्देश दिन्छ—देशको विकास जनताले खोजेका पात्रहरूद्वारा मात्र सम्भव छ, जसले परिणाम देखाउँछन्, न कि केवल राजनीतिक समीकरण मिलाउँछन् । कुलमान घिसिङ यस्ता व्यक्तिको प्रतीक हुन्, जसले संस्थागत सुधार, सेवा प्रवाहमा पारदर्शिता, र जनउत्तरदायित्वको नयाँ उदाहरण स्थापित गरेका छन्।
आज उनी जहाँ जान्छन्, अभिनन्दित हुन्छन् । यो केवल व्यक्तिको प्रशंसा होइन, उनीमार्फत जनताको अपेक्षा र भरोसाको प्रतिबिम्ब हो । नेतृत्वमा शुद्धता, संकल्प र सेवा भावना भए परिवर्तन सम्भव छ भन्ने उनले देखाएका छन् ।
उनको उर्जाप्रतिको अनुभव, शीप, दक्षता र कलापूर्ण व्यवस्थापकीय कौशलताको परिणामले नेपाली जनताले बल्लतल्ल उज्यालोमा बस्ने वातावरण बनेको थियो तर केपी शर्मा ओलीको सरकारका लागि त्यो सह्य भएन र पहिलाकै कार्यकारी हितेन्द्र शाक्यलाई मन्त्री दिपक खड्काको जोडबलमा नियुक्ति गरियो । नियुक्त भएकै हप्ता अरबौं नाफामा रहेको प्राधिकरणलाई घाटामा देखाउने र कुलमानले गरेका उपलब्धी शुन्य बनाएर जनतालाई झुक्याउने चेष्टा भए तर जनताले बुझिसकेका थिए कि कुलमानलाई सिध्याउन यो सरकारले जे पनि गर्छ अन्ततः भयो त्यसतै । सरकारका कुरा पत्यारिला भएनन । अहिले दिनमा दर्जनौं पटक विद्युत आपुर्ति बन्द हुन्छ । कहिँ भोल्टेज पुग्दैन । पुरानै रितिमा ठूला व्यापारीको पक्षपोषणमा विद्युतको ठूलो अंश खपत गरिएपछि सर्वसाधारणलाई विद्युत अभाव देखाइएको छ । त्यति मात्र होइन यतिखेर विद्युत प्राधिकरण घाटामा रहेको भन्दै शाक्यले सरकारसँग १० अर्ब ऋण लिनका लागि फाइल उर्जा मन्त्रालयमा पु¥याएको छ । तै पनि जनताले नपत्याएर कुलमान जहाँ पुग्छन त्यहाँ सम्मानित र अभिनन्दित भएर फर्कने गरेका छन् ।
यस्ता व्यक्तित्वलाई सम्मान गर्नु केवल औपचारिकता होइन—देशले यिनको दृष्टि, सिद्धान्त र इमान्दारीलाई आत्मसात गर्नुपर्ने आवश्यकता हो । सरकार र राजनीतिक नेतृत्वले यसबाट पाठ सिक्नुपर्छ, अनि मात्रै उज्यालोको यात्राले स्थायित्व पाउनेछ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया