आज छठको दोस्रो दिन : ब्रतालु खरना अर्थात सख्खतरको खिर बनाउने विधिको तयारीमा

खगेन्द्र कार्की

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज (२१ कात्तिक) ब्रतालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (ब्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार ब्रत बसेर साँझपख ब्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुऱ्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अर्घ्यदिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी(जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी ९मधेशी० मूलका हिन्दूले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया