​झापा मोडलका विद्यार्थीद्वारा मतदान अभ्यासः चुनिए विद्यार्थी नेता

खगेन्द्र कार्की


​दमक । ​दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय तहमा नै लोकतन्त्रको सुन्दर पक्ष ‘निर्वाचन र मतदान’ को प्रत्यक्ष अभ्यास गरेका छन्। सामाजिक विषय अन्तर्गत रहेको निर्वाचन प्रणालीसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले विद्यालयमा भव्य रूपमा विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) को निर्वाचन सम्पन्न गरिएको हो।

​कक्षाकोठामा किताबका पानाहरूमा मात्र सीमित रहने निर्वाचन, मतदाता, उम्मेदवारी, र भोटिङ जस्ता शब्दहरूलाई विद्यार्थीहरूले आफैँ सहभागी भएर महसुस गरे। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन विद्यालयले वास्तविक निर्वाचनकै झल्को दिने गरी मतदान केन्द्र, मतपेटिका, र गोप्य मतदान कक्षको व्यवस्था गरेको थियो।

​विद्यार्थीहरूले आफैँ उम्मेदवार चयन गर्ने, चुनावी घोषणापत्र तयार पार्ने, प्रचार(प्रसार गर्ने र मतपत्र मार्फत आफ्नो अमूल्य मत खसाली आफ्ना प्रतिनिधि छानेका थिए। मतदान प्रक्रियामा सहभागी एक विद्यार्थीले भने, ूसामाजिक विषयमा निर्वाचन प्रणालीबारे पढेका थियौँ, तर आज आफैँले लाइनमा बसेर, छाप लगाएर भोट हाल्दा लोकतन्त्र र निर्वाचनको महत्त्व साँच्चिकै बुझियो।ू

​विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठका अनुसार, विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्न, योग्य प्रतिनिधि छान्न सक्ने विवेकपूर्ण चेतना जगाउन र भविष्यका लागि जिम्मेवार नागरिक तयार पार्न यो अभ्यास गराइएको हो।

​किताबी ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी सिकाईसँग जोड्ने झापा मोडलको यो कार्यलाई स्थानीय शिक्षाविद् र अभिभावकहरूले समेत निकै प्रंशसनीय कदमका रूपमा लिएका छन्।

निर्वाचनबाट छात्रातर्फ प्रणव मण्डल तथा  सृष्टि दाहाल स्कूल क्याप्टेनमा निर्वाचित भए भने सहायक क्याप्टेनतर्फ देवराज विष्ट र नियोरिका नेपाल निर्वाचित भए।  विजयी उम्मेदवारहरूलाई अर्को कार्यक्रममा प्रमाणपत्र र सपथ ग्रहण गराइने विद्यालयले जनाएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया