इनरुवा । सप्तकोशी नदीमा हिउँदमा देखिने बालुवाका टापु वर्षासँगै बढेको पानीको सतहले छोपिएर देखिन छाडेका छन् । नदीमा बालुवाको सतह प्रत्येक वर्ष वृद्धि हुँदै जाँदा हिउँदमा बालुवाका टापु देखिने र वर्षामा पानीको सतह बढेर ती टापु पुरिने गरेका छन् । नदीमा बालुवाको सतह बढ्दै जाँदा नदीले आफ्नो धार परिवर्तन गर्दै आएको नदीसँगै लुकामारी खेलेर हुर्किएकाले बताएका छन् । वराहक्षेत्र–१० का ८६ वर्षीय कृष्णप्रसाद नेपालले आफूले बालापन र युवावस्थामा देखेको नदीको स्वरूप हालको स्वरूप जस्तो नरहेको बताए। नदीमा प्रत्येक वर्ष बाढीसँगै थुप्रिने बालुवा र गेग्य्रानको टापुले नदीको सतह पुरिँदै आएको छ ।
सतह पुरिँदा सानो बाढी आउँदा पनि नदीमा ठुलो बाढी आएको जस्तो देखिने गरेको स्थानीय बताउँछन् । सानो बाढी आउँदा पनि पानीको सतह तटबन्ध छेउसम्म आउने गरेको वराहक्षेत्र–९ का लालबहादुर लिम्बू बताउनुहुन्छ । वर्षामा सप्तकोशीले रौद्र रूप देखाउँदा कोशी कोरिडोर आसपासको क्षेत्रका स्थानीयले राम्रोसँग निदाउन नपाउने उनको भनाइ छ । कोशीको थेग्य्रान व्यवस्थापनमा कसैको चासो नहुँदा स्थानीयले त्रास खेप्नु परेको हो । स्थानीयका अनुसार कोशी कहिल्यै स्थिर भएर बगेको छैन । कहिले पश्चिम भएर बग्छ भने कहिले बिचबाटै र कहिले पूर्वी तटबन्धको छेउ भएर बग्छ । गाउसँगै जोडिएको तटबन्धमा बसेर हेर्दा नदी उच्च र गाउँ गहिरो देखिने गरेको छ ।
पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा लामटाङ हिमालसम्मको भूभागमा फैलिएका नदीलाई समाहित गरेको सप्तकोशी नेपालको सबैभन्दा ठुलो नदी हो । वराहक्षेत्रको चतराबाट पहाड सकेर समथर क्षेत्रमा फैलिएर बग्ने नदी बाढीसँगै बगेर आएका बालुवा, माटोको गेग्य्रानले समथर भूभागमा टापु जस्तो बनेर बसेको नदी उकासका कारण बर्सेनि नदी सतह बढ्न पुगेको हो । नदीमा बालुवा जम्नुको अर्को कारण कोशी ब्यारेजमा बनेको ढोकाले थेग्य्रान बग्न अवरोध हुँदा बालुवा जमेको लालबहादुर लिम्बूले बताउनुभयो । उहाँका अनुसार कोशी ब्यारेजका ढोका भारतले आफ्नो अनुकूलमा मात्रै खोल्ने हुँदा पुलकै कारण बाढीमा थेग्य्रान बग्न नपाउँदा बालुवाका टापु बन्ने गरेका छन् ।
सप्तकोशी डुबान–कटान बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बू कोशी नदीको सतह उच्च हुँदै आएकाले प्रत्येक वर्ष नदीले आफ्नो बाटो परिवर्तन गर्दै आएको छ । बाढी आउँदा ब्यारेजका सबै ढोका खोलिदिने हो भने बालुवा भेलसँगै बगेर जाने स्थानीयको बुझाइ छ । हिउँदमा देखिने नदी उकासका टापु निकाल्ने काम गर्न सके कोशीले आफ्नै लय पक्रिने लिम्बूले बताउनुभयो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो