संखुवासभाको सदरमुकाम खाँदबारीबाट केही घण्टाको यात्रापछि पुगिने मकालु गाउँपालिका–५ को माङ्सिमा गाउँ प्रकृति, संस्कृति र ग्रामीण जीवनशैलीको अद्भुत संगम हो। मकालु हिमालको काखमा अवस्थित यो गाउँ अझै पनि व्यावसायिक पर्यटनको अत्यधिक प्रभावबाट टाढा रहेकाले ‘भर्जिन डेस्टिनेसन’ का रूपमा चिनिन थालेको छ।
सहरको कोलाहलबाट मुक्त भएर शान्त वातावरण खोज्नेहरूका लागि माङ्सिमा उत्कृष्ट गन्तव्य बन्न सक्छ। स्वच्छ हावा, हरियाली डाँडाकाँडा, नागबेली आकारका खेतबारी र स्थानीय बासिन्दाको आत्मीय आतिथ्यताले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ। गाउँमा एक दिनदेखि पाँच दिनसम्म बसोबास गरेर स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्न सकिन्छ।माङ्सिमाको मुख्य आकर्षण गुन्याहाङ्ग पहाड हो। यहाँबाट मकालु, कञ्चनजङ्घा लगायतका हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ। साथै शभापोखरी, खाँदबारी, चैनपुर, भोजपुर र भोटखोला क्षेत्रसम्मको दृश्यावलोकनले यात्रालाई अझ स्मरणीय बनाउँछ। रातमाटे, गिद्दे ढुङ्गा, पाताल खर्क र भञ्ज्याङ खर्क जस्ता प्राकृतिक स्थलहरूले यस क्षेत्रको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्।प्राकृतिक सम्पदासँगै माङ्सिमा सांस्कृतिक विविधताले पनि सम्पन्न छ। यहाँ गुरुङ र राई समुदायको बसोबास छ। पाहुनाको स्वागत स्थानीय परिकार, तोङ्बा, छ्याङ, भेडाको मासु, वाचिपा, असला माछा र ताक्मारु रातो चामलले गरिन्छ। स्थानीय खानपान र संस्कृतिले ग्रामीण पर्यटनलाई जीवन्त बनाएको छ।कृषिका दृष्टिले पनि माङ्सिमा सम्भावनाले भरिएको छ। प्रसिद्ध ‘ताक्मारु रातो धान’ यहाँको पहिचान बनेको छ। अलैँची, किवी, एभोकाडो, टिमुर, कफी, चिया तथा ट्राउट माछापालनका लागि समेत यो क्षेत्र उपयुक्त मानिन्छ। पशुपालन र अर्गानिक खेतीले स्थानीय अर्थतन्त्रलाई बलियो बनाइरहेको छ।पर्यटनसँगै यहाँ खानीजन्य सम्भावना पनि रहेको बताइन्छ। टुर्मालिन, गार्नेट, एक्वामरिन र चुनढुङ्गाजस्ता खनिज सम्पदाले भविष्यमा थप आर्थिक अवसर सिर्जना गर्न सक्ने देखिन्छ।यद्यपि सञ्चार सुविधा, व्यवस्थित आवास, तालिमप्राप्त गाइड तथा वैकल्पिक यातायातको अभाव चुनौतीका रूपमा रहेका छन्। तैपनि स्थानीयवासीहरू होमस्टे विस्तार, अर्गानिक कृषि–पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमार्फत माङ्सिमालाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा जुटेका छन्।प्रकृतिको अनुपम सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक मौलिकता र आत्मीय आतिथ्यताको संगम माङ्सिमा केवल एउटा गाउँ होइन, नेपालको ग्रामीण पर्यटनको सम्भावनाले भरिएको जीवित संग्रहालय हो।
खगेन्द्र कार्की
१९ जेठ २०८३, मङ्गलबार ०९:४७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो