दमक । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।
तराई– मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबिच चुनावको चर्चा छ ।
महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् । मधेस प्रदेशमा केही स्वतन्त्रसहित तीन समूह चुनावी प्रतिस्पर्धामा छन् ।
प्रजातन्त्रको बिहानीसँगै सात दशकअघि स्थापित नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ २४ औं नयाँ नेतृत्व चयन आज हुँदैछ । देशभरका करिब साढे नौ हजार श्रमजीवी पत्रकार प्रत्यक्ष सहभागी हुने ‘चुनावी दिन’ (इलेक्सन डे)का रुपमा आज पत्रकारहरुले उत्सवमय निर्वाचन सम्पन्न गर्दैछन् ।
अघिल्लो पटकबाटै पत्रकार महासङ्घमा प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुन थालेको छ ।
महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि झण्डै १० हजार सदस्यले एकसाथ मतदान गर्दैछन् ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको लागि दर्जनौं बुथहरु खडा गरिएका छन् । केन्द्रीय समितिको ४९ पदका लागि भोलि निर्वाचन हुँदैछ ।
देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सख्याअनुसार रहने व्यवस्था छ ।
नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको
विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व हो । विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । विसं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो ।
प्रत्येक जिल्लाबाट नै केन्द्र र प्रदेशका उम्मेदवारलाई एकसाथ गरिने मतदान कार्यक्रमका लागि मुख्यरुपमा दुई वटा प्यानल बनाएर पत्रकारहरु चुनावी मैदानमा छन् । सत्तापक्षसँग नजिक प्रेस चौतारी नेपाल र प्रेस युनियनबीच चुनावी गठवन्धन भएको छ । अर्कातर्फ, प्रेस युनियनसँग असन्तुष्ठ पक्ष, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चसहित स्वतन्त्रको उम्मेदवारी परेको छ ।
केन्द्रीय समितिमा निर्मला शर्मालाई अध्यक्ष अघि सारेर चौतारी र युनियनको गठनबन्धन छ । अन्य संगठनले प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको अगुवाईमा प्यानल खडा गरेका छन् । अध्यक्ष पदका लागि स्वतन्त्र समेत गरी कुल ४ जनाको उम्मेदवारी परेको छ ।
यता कोशी प्रदेशको अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । भरत प्रेस चौतरी र प्रेस युनियन गठबन्धनको उम्मेदवार हुन् । गौतम प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत पत्रकार निकट संघको साझा उम्मेदवार हुन् । लामा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज)को तर्फबाट उम्मेदवार भएका हुन् ।
महासंघको उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान, महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई र हिमाकुमारी चेम्जोङ्गको उम्मेदवारी परेको छ ।
खुल्ला सचिवमा ध्रुव भट्टराई र बाबुराम कार्कीले उम्मेदवारी परेको छ । समावेशी सचिवमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली र रामधन राईको उम्मेदवारी परेको छ ।
झापामा संयुक्त व्यवसायिक प्यानल घोषणा
नेपाल पत्रकार महासंघ झापाका ४ जना पूर्व अध्यक्ष तथा अन्य अग्रज पत्रकारहरुको उपस्थितीमा बिहीबार नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल सम्मिलित संयुक्त व्यवसायिक प्यानल झापाको घोषणा भएको छ ।
भोलि हुने पत्रकार महासंघको झापा जिल्ला समिति, प्रदेश केन्द्रको निर्वाचनका लागि बिर्तामोडमा बिहीबार आयोजित कार्यक्रममाझ त्यसखाले प्यानलको घोषणा गरिएको हो । पूर्व अध्यक्षहरु माधव विद्रोही, मोहनकाजी, भीम नेम्वाङ र गणेश पोखरेलसहितको उपस्थितीमा झापाको अध्यक्षका लागि युनियनका एकराज गिरीको अगुवाईको प्यानललाई साझा व्यवसायिक प्यानलका रुपमा अघि बढाइएको घोषणा भएको थियो । सत्तापक्षीय गठबन्धनका तर्फबाट सत्तारुढ नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारीको संयुक्त गठबन्धनका तर्फबाट एकराज गिरी र प्रतिपक्षका तर्फबाट डिकेश लामाको उम्मेदवारी परेको छ । गिरी हालका अध्यक्ष र लामा सचिव हुन् ।
त्यस्तै, चौतारी निकट निडर पुराना पत्रकार टीकाराम नेपाल नेतीले स्वतन्त्रका तर्फबाट भन्दै उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै भएपनि युनियनका राजेन्द्र गौतमले बागी उम्मेदवारी दर्ता गराएका हुन । गिरी दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेद्वार बनेका हुन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो