राष्ट्रिय झण्डा ओढाएर नगरसम्मानसहित लोकगायक जोशीको अन्त्येष्टि, स्व.जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

खगेन्द्र कार्की

इटहरी । पूर्वका चर्चित लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) जोशीलाई दमक नगरपालिकाको सम्मानसहित श्रद्धाञ्जली दिएर कन्काईमा अन्त्येष्टि गरिएको छ। 

८८ वर्षीया जोशीको पार्थीव शरिरलाई निजी निवासमा श्रद्धाञ्जली पश्चात् दमक नगरपालिका परिसरमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नगर प्रहरीको सलामीसहितले नगरसम्मान प्रदान गरिएको थियो । नगरसम्मान अगाडि जोशीका लोकप्रिय गितका धुनहरु बजाइएका थिए । 

झापाको दमक–१ स्थित निवासमा बिहीबार राती बेहोस् भएपछि जोशीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको थियो । पारिवारिक पर्खाइका लागि दमक अस्पतालमा केही दिन राखेर आइतबार १ बजे जोशीको कन्काई धाममा अन्त्येष्टि गरिएको थियो । 

सो श्रद्धाञ्जली कार्यक्रममा नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना प्रसाई भट्टराई, पूर्व मेयर रोम वली, कोशी प्रदेशका पूर्व सभासद अर्जुन राईलगायत सबै वडाका वडाअध्यक्ष, जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव मदन भण्डारी, कलाकार विक्रमश्री निरौला, वरिष्ठ सिने कलाकार हेमन्त बुढाथोकी, कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने, पूर्वाञ्चल कला संघ, झापाली कलाकार संघ, साहित्यानुरागी, कलाकर्मी, साहित्य कला क्षेत्रका विभिन्न विधाका सर्जकहरु, विभिन्न संघसंस्था, पत्रकार, राजनीतिककर्मीहरु, समाजसेवी र ठूलो संंख्यामा मलामीजनले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्त्यष्टिमा सहभागी भएका थिए ।  

जोशीको अन्तिम श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले स्व. जोशीले गीतसङ्गीत, साहित्य, खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिङ्गो देशका लागि पु¥याउनुभएको योगदान स्मरणीय रहने उल्लेख छ ।

दमकमा आधा दिन शोक बिदा

लोकगायक जोशी (एलपी) को निधनमा आइतबार दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना प्रकाशित गर्दै स्व. जोशीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै आइतबार दिउँसो १ बजेपश्चात् दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्थाहरूमा (दमक अस्पतालबाहेक) शोक बिदा दिइएको शोक विज्ञप्तिमा उल्लेख गरेका छन् । 

लोकगायक जोशीको जन्म वि.सं. १९९३ मा धनकुटा बजारमा भएको थियो । कृष्णमानसिंह जोशीका कान्छी पत्नी विष्णुकुमारी जोशीतर्फका जन्तरे छोराको रुपमा लक्ष्मी पुजाकै दिन जन्म लिएको हुनाले पनि उनको पूरा नाम नै लक्ष्मीप्रसाद जोशी रहेको छ । स्व. जोशीका श्रीमती बिन्दा, छोरा पूजनको निधन भइसकेको छ । हाल छोरा मिलनसहित बुहारी, नाति नातिनीसँग बस्दै आएका थिए । 

नेपालको इतिहासको ज्यँदो साक्षीको रुपमा उभिएर समाजलाई गीत तथा साहित्यको माध्यमबाट जनचेतना दिने अभियानमा धेरै संघसंस्थामा आबद्ध भएर जोशी काम गरिरहेका थिए ।

जोशीले पुर्वेली लोकभाकाका कर्णप्रिय, कालजयी गीतहरु ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’, ‘जति खायो उति मीठो गैरीगाउँको आलु हो– साइँली लठेउरी’, ‘बाख्राको पाठाले म्या

 पूर्वेली...गर्छ’, बाँसैको झ्याङमा चरी लै लै’, ‘खिपीमा खिपी विनायो बाजा’ लगायत दर्जनौँ गित मात्र गाएका छैनन चित्रकार अभिनेताको भूमिका समेत निभाएका छन् । नेपाली समाजको चित्र गीतमा उतार्न माहिर जोशीका ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालको राजनीतिक परिवर्तनका बेलामा रेकर्ड भएको थियो ।

एलपी जोशीको नाट््य र नृत्य विधामा प्रवेश २००८ सालदेखि भएको थियो भने चित्रकला, गायन र साहित्यमा क्रमशः २०१०, २०१३ र २०१६ सालमा भएको थियो । रेडियो नेपालमा भने उनी २०१३ सालमा मात्र प्रवेश गरेका हुन् । उनी १३ सालमै हेडसरलाई आवश्यक दुःख दिएको आरोपमा बडाहाकिमको आदेशमा ४ महिना जेल जीवन बिताएको अनुभव समेत बोकेका छन् ।

जोशी लोकगायक मात्र नभएर एक कुशल चित्रकार र अभिनेता पनि थिए । उनले नेपालको दोस्रो चलचित्र ‘हिजो आज भोलि’का नृत्य निर्देशक र नृत्य कलाकार पनि हुन् । उनले पछि आएर पनि टेलिफिल्म ‘स्मृति’, टेलिसिरियल ‘बाबुको बिहे’, चलचित्रहरू ‘आप्mनो विरानो’, ‘माझीदाई’ र ‘देश खोज्दै जाँदा’ लगायत ९ वटा चलचित्रमा अभिनय गरेका छन् ।

वि.सं. २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्दै  नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पु¥याएका जोशीले देशभित्र र प्रवासमा सयौँ पुरस्कारले सम्मानित भएका छन् । एलपीको साङ्गीतिक यात्राले उचाइ लिन थालेको २०१९ सालको रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी लोकगीत सम्मेलनमा राजा महेन्द्रबाट स्वर्ण पदक प्राप्त गरेपछि हो।

उनको कृतिका रूपमा ‘अनावृत’ नामक लोकगीत, लोकगजल, मुक्तक र कविताहरू समाविष्ट संग्रह प्रकाशित छ । गीततर्फ उनका ७ वटा गीत रहेको ‘रिटिङ्ग रिटिङ्ग’ एलबम म्युजिक नेपालबाट निस्किएको छ । जोशीले २०२४ मा नेपालमै पहिलोपटक मुनामदन गीति नाटक झापाको दमकमा मञ्चन गराएका थिए ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । कलाकार जोशीको आज अन्तिम बिदाई भएको उल्लेख गर्दैै प्रम ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गरेका छन् ।  आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन– “हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाई, सबै हुनुहुन्थ्यो ।”


खगेन्द्र कार्की
प्रतिक्रिया