इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाई गरे ।
प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी
पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । उनले यही असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनद्धारा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो (एलडिसी)को अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत ‘उच्चस्तरीय र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध’ विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ । उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत हुने कार्यक्रम छ । असोज १४ गते प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
कार्यवहाक प्रधानमन्त्रीमा उपप्रधानमन्त्री प्रकाशमान सिंह
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन शुक्रबार अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन २०८१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो