अघिल्ला दुई दिनको कारोबार झै नेप्से कारोबार बढेर बन्द

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । बुधबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक ३९।७० अंक बढेर २७५६।३६ विन्दुमा पुगेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ३।३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २।०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।११ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८८ हजार ९९९ पटकको कारोबारमा ९ अर्ब ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ३४ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९।२७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरै बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सामान्य घटेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया