झापा । शिवसताक्षी नगरपालिका–१० माइधारस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमद्वारा आयोजित “श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) समारोह” भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
वैशाख ११ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक महोत्सवप्रति देश–विदेशका भक्तजनहरूमा उच्च उत्साह देखिएको पत्रकार सम्मेलन गरि आयाेजकले जानकारी जनाएको छ।
वि.सं. २०२५ मा स्थापना भएको उक्त संस्थाले विभिन्न धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ नेपालसहित भारत, भूटान, म्यानमार, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशहरूमा समेत आफ्नो गतिविधि विस्तार गरिसकेको आश्रमले जनाएको छ।
आश्रमद्वारा सञ्चालित वेद विद्यालय, गोशाला, छात्रावास, पुस्तकालय तथा अन्य सेवा कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्दै आएको उल्लेख गरिएको छ।
यस महोत्सवमा दक्षिण भारतबाट प्रमुख आचार्यहरूको उपस्थिति रहनेछ भने विभिन्न देशबाट धर्मगुरु, विद्वान तथा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रमुख आचार्यका रूपमा तामिलनाडुको काञ्चीपुरम् निवासी जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य गादी स्वामीजी महाराजको विशेष उपस्थिति रहनेछ।
त्यस्तै, श्रीराम कथाको प्रवचनका लागि अयोध्याबाट जगद्गुरु श्रीराघवाचार्य स्वामीजी महाराज प्रमुख कथा वाचकका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ।
महोत्सव अवधिभर दैनिक धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, आँखा जाँच तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्, साथै, सातवटा मन्दिरमा स्थापित मूर्तिहरूको प्राण प्रतिष्ठा, जलाधिवास, धान्याधिवास, महाअभिषेक, ध्वजारोहण लगायतका वैदिक विधिहरू समेत सम्पन्न गरिने आयोजक समितिले जनाएको छ।
वैशाख ११ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन समारोह आयोजना गरिनेछ, उद्घाटनपश्चात आश्रमबाट सुरु हुने भव्य शोभायात्रा सुरुंगा, दुर्गापुर, लक्ष्मीपुर हुँदै अर्जुनधारा धामसम्म पुग्नेछ।
त्यसपछि विर्तामोड नगर क्षेत्रको परिक्रमा गरी पुनः आश्रममा फर्किने कार्यक्रम तय गरिएको छ,यस यात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिइएको छ।
महोत्सव सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ, जसमा दान तथा सहयोग प्रमुख स्रोत रहनेछ। दैनिक भोजन व्यवस्थापनका लागि मात्र करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने कार्यक्रममा दैनिक १० हजारभन्दा बढी भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो